Logo

विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खला : आज ओमानसँग खेल्दै नेपाल



काठमाडौं, असोज २ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे शुरू हुनेछ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो ।

क्यानडा नौ खेलमा पाँच जित र चार हारका साथ १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । नेपाल पाँच खेलमा एक जीत र चार हारका साथ २ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । ओमान ४ खेलमा १ जीत र २ हारका साथ ३ अङ्कसहित छैटौँ स्थानमा छ । नेदरल्यान्ड्स आठ खेलमा १२ अङ्कका साथ शीर्ष स्थानमा छ ।

विश्वकप सन् २०२७ को छनोटको रुपमा रहेको लिग–२ मा आठ टोलीको सहभागीता छ । नेपालले तेस्रो खेलमा असोज ६ गते क्यानडासँग र चौथो खेलमा असोज ८ गते ओमानसँग खेल्नेछ ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टीमामा कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, सोमपाल कामी, करण केसी, गुल्सनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ) मा रहेका छन्।

सन् २०२१ मा भएको खेलमा ओमानले नेपाललाई ५ विकेटले हराएको थियो भने सन् २०२१ मै भएको अर्को खेलमा नेपाल ७ विकेटले जितेको थियो। सन् २०२२ मा भएको खेलमा ओमान १३ रनले जितको थियो भने सोही वर्ष भएको खेलमा नेपाल ७ विकेटले जितेको थियो। जबकी सन् २०२३ मा भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो।



प्रतिक्रिया दिनुहोस्