सिमकोट (हुम्ला), ४ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हिन्दुहरूको महान् चाडपर्व दशैँ, तिहारलाई लक्षित गरी सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका निमित्त प्रमुख नवीनप्रसाद आचार्यले बताए ।
कार्यालयले यहाँका नागरिकलाई २५ केजीका छ किसिमका चामल बिक्री गर्दै आएको छभने तोरी तेल र सूर्यमुखी तेलमा पनि प्रतिलिटर सात छुटमा बिक्री हुने भएको निमित्त प्रमुख आचार्यले बताए ।
अरुवा मोटा चामलको एक हजार पाँच सय २५, अरुवा सोना मन्सुली एक हजार सात सय २५, स्टिम जिरामसिनो दुई हजार दुई सय ५० मा बिक्री गरिने भएको व्यापार कम्पनीले जनाएको छ । यसअघि अरुवा मोटा चामलको एक हजार छ सय ५०, अरुवा सोना मन्सुली एक हजार आठ सय ५०, स्टिम जीरा दुई हजार तीन सय ७५ मा विक्री वितरण हुँदै आएको थियो ।
पच्चीस केजी बोराका विभिन्न चामलको प्रतिबोराबाट एक सय २५ छुटमा बिक्री हुन लागेको हो । यस्तै सूर्यमुखी तेल प्रतिपेटीको दुई हजार दुई सय ३० र तोरी तेलको प्रतिपेटी दुई हजार ३० मा विक्री हुन लागेको हो । सहुलियत मूल्यमा खाद्यान्न विक्री असोज ६ देखि असोज १५ गतेसम्म बिक्री गरिने जनाइएको छ । गत वर्ष पनि उक्त कार्यालयले छुटमा खाद्यान्न बिक्री गरेको थियो । रासस