Logo

भारत र चीनको द्रुततर विकासको राज पत्ता लगाएर अनुशरण गर्दै जानुपर्छ : रवि लामिछाने



काठमाडौं, ४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २१औं शताब्दी एसियाकेन्द्रित भैरहेको भन्दै नेपालले सोहीअनुसार आफ्नो विदेश नीति अख्तियार गर्नुपर्नेमा जोड दिएका छन् । यही असोज १–२ गते काठमाडौंमा आयोजित प्रथम राष्ट्रिय भेलामा प्रस्तुत राजनीतिक प्रतिवेदनमार्फत सभापति लामिछानेले अन्तर्राष्ट्रिय परिवेशको चर्चा गर्ने क्रममा यस्तो भनेका छन् । उनले नेपाल विश्वको अति रणनीतिक ठाउँमा रहेको उल्लेख गरेका छन् । नेपालले आर्थिक कुटनीति अवलम्बन गर्नुपर्नेमा उनको जोड छ ।

लामिछानेको प्रतिवेदनमा भनिएको छ–‘नेपालको विकास र स्थायित्व भारत र चीनको पनि सामरिक हितभित्रै पर्दछ । हामीकहाँ अस्थिरता हुनु, असमानता चर्कनु वा गरिबी बढ्नुले छिमेकमा पनि प्रतिकुल असर पर्छ । नेपाल कमजोर भएमा घुसपैठ गरेर उनीहरुविरुद्ध हुन सक्ने अन्य पक्षको अवाञ्छित क्रियाकलापबारे छिमेकीहरु च्नाखो हुन्छन् । त्यसको मुकाविला गर्नसमेत स्थिर र बलियो नेपाल अपरिहार्य छ ।’

उनले नेपाल बनाउनको लागि उदाउँदा विशाल छिमेकहरु भारत र चीनको सहयोग र सद्भाव लिनुपर्ने औंल्याएका छन् । र, नेपाल बलियो हुँदा भारत र चीनले पनि सुरक्षित महसुस गर्ने उनको बुझाई छ । भारत र चीनको द्रुततर विकासको राज पत्ता लगाएर त्यसलाई अनुकरण र अनुशरण गर्दै जानुपर्नै लामिछानेको भनाई छ । उनले भनेका छन्–‘दुवै देशको राजनीतिसँग नजिक र विश्वासको वातावरण हाम्रो अन्तर्राष्ट्रिय अर्थ–राजनीतिको मुख्य चासो बन्नुपर्छ । भारत र चीनसँगको सम्बन्ध कसिलो बनाउँदै गर्दा उनीहरुप्रतिको अधिक निर्भरता नहोस भन्नेप्रति हाम्रो ध्यान जान जरुरी छ ।’



प्रतिक्रिया दिनुहोस्