Logo

धरहराको सिंगो सञ्चालनको जिम्मा काठमाडौं महानगरलाई दिनुपर्छ, बालेनसँग एमालेले शब्दयुद्ध गर्न जरुरी छैन : शेरबहादुर तामाङ



काठमाडौं, ५ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले धरहराको सम्पूर्ण सञ्चालनको जिम्मा काठमाडौं महानगरलाई दिनुपर्ने बताएका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो मत राखेका हुन् । उनले अहिले काठमाडौंका मेयर बालेन्द्र शाह र एमालेको सिँगो पँक्तिबीच भैरहेको जुहारी आफूलाई निको नलागेको टिप्पणी गरे । उनले बरु काममा प्रतिष्पर्धा गर्न दुवै पक्षलाई सुझाव दिए ।

एमालेजस्तो पूरानो र ठूलो दलले काठमाडौंको मेयरसँग किन जुहारी गरेको भन्ने पत्रकारको प्रश्नमा पूर्वमन्त्री तामाङले अब शब्दयुद्ध गर्न जरूरी नभएको स्पष्ट पारे । उनले भने,‘काम गरौं । एमालेले पनि काम गर्नुपर्छ । बालेनले पनि काम गर्नुपर्छ । शब्दयुद्ध गर्न जरुरी छैन् । एमालेका साथीहरुले शब्दयुद्ध चलाउन जरुरी छैन् । काम गरेर जित्नुहोस । धरहराको सम्पूर्ण व्यवस्थापन महानगरलाई हस्तान्तरण गरौं । राजधानी सबै नेपाली जनताको हो । कसैसँग टक्कर गर्ने नाममा राजधानीवासीलाई अहित हुने काम कसैले नगरौं । एमालेले पनि गर्दैन् । एमाले नेतृत्वको सरकारले पनि नगरौं । भिड्ने काम नगरौं । बरु काममै भिडौं । धरहराको सिंगो सञ्चालनको काम महानगरलाई जिम्मा लगाऔं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सहकारी छानबिन समितिले प्रतिवेदन ल्याईसक्दापनि कतिपयले सत्यलाई छोप्ने प्रयास गरेको भन्दै आलोचना गरे । उनले भने,‘सहकारी छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरिसकेको छ । गलत कुरालाई पनि सही हो भन्ने पात्र यो मुलुकमा छन् । त्यसैले त्यस्ता पात्रहरुको राम्रो समाचार बनाएर सबै भ्रम हटाईदिउँ, त्यस्ता पात्रले भ्रम दिन सक्छन् । तर, सत्य त सत्य हो । अनियमितता गर्ने सबैलाई छानबिनको दायरामा ल्याउनुपर्छ ।’

उनले भ्रष्टाचार निवारणको लागि आफूले सबैको सम्पत्ति सार्वजनिक गर्नुपर्ने प्रस्ताव कानूनमन्त्रीको जिम्मेवारीमा हुँदाखेरि राखेको पनि स्मरण गराए । उनले भ्रष्टाचारको कुनै हदम्याद नहुने भन्दै अहिले सरकारले पनि त्यहीअनुसार कानून बनाएकोमा धन्यवाद ज्ञापन गरे ।

मुलुकमा विकास निर्माणका कामले गति लिइरहेको पनि उनको दाबी छ । उनले भने,‘धरहरा निर्माण सम्पन्न भएर अहिले सर्वसाधारणले चढ्न पाएका छन् । यो पनि देखाऔं । नागढुंगामा सुरूङमार्ग निर्माण अन्तिम चरण्मा छ, छिट्टै त्यो पनि उद्घाटन हुँदैछ । पूर्व–पश्चिम हुलाकी राजमार्ग, महेन्द्र राजमार्गको स्तरोन्नती, मदन भण्डारी लोकमार्गपनि बनिरहेको छ । मध्यपहाडी लोकमार्गपनि बनिरहेको छ । अब हिमाली पर्यटनमार्गपनि बन्छ । यो सबै काम हुन्छन् ।’

तलब–भत्तामा ७० प्रतिशत सकाउने देश भएकोले नेपालले धेरै छिटो विकास गर्न नसक्ने उनको ठोकुवा छ । उनले भने,‘अब विकासको बजेट बढाउनुपर्छ । यो सरकार बन्दै गर्दा र ७ बुँदे सहमति गर्दै गर्दा संविधान संशोधन गर्ने कुरा गरेका छौं । विकास र समृद्धिसँग जोडिएको कुरामा सरकारको जोड छ । ग्रामिण अर्थतन्त्रलाई सुधार गर्नुपर्छ। युवा पलायन रोक्नुपर्छ । गाउँकेन्द्रित योजना अघि बढाउन सकेनौं भने अब गाउँ रित्तिँदैछ । सरकारले अब गाउँलाई छिटो छिटो हराभरा बनाउनुपर्छ । आम्दानीको स्रोत गाउँमै बनाउनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्