Logo

रवि लामिछानेलाई नेतृत्वबाट अपदस्त गर्न रास्वपाभित्रैबाट षड्यन्त्र भएको चर्चा



काठमाडौं, ७ असोज । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेविरुद्ध कारबाही सिफारिश भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीभित्र नेतृत्व हत्याउनेगरि षड्यन्त्र भएको चर्चा छ । खासगरी सभापति लामिछानेलाई हटाएर नेतृत्व लिन विपक्षीहरुसँग केही नेताले साँठगाँठ गरेको अहिले घण्टीघरतिर चर्चा चल्न थालेको छ। गृहमन्त्री रमेश लेखकले सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनको लािग निर्देशन दिएकै दिन रवि लामिछानेका साझेदार छविलाल जोशी पक्राउ परे । रविलाई पनि हिजै पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालित भएको सन्देश प्रवाह भएको थियो ।

तर, प्रहरी प्रवक्ता डिआईजी दानबहादुर कार्कीले भने लामिछानेलाई पक्राउ गर्न प्रक्रिया नै नथालिएको स्पष्ट पारेका थिए । रवि समर्थकहरु हिजो रास्वपाको मुख्यालय घण्टीघरमा भेला भएका थिए । उनीहरुले सरकारविरुद्ध र रविको पक्षमा चर्को नाराबाजी गरेका थिए । स्वयम लामिछानले पनि उपस्थित् मिडियाकर्मी र आफ्ना नेता तथा कार्यकर्ताहरुलाई संक्षिप्त सम्बोधन गरेका थिए ।

लामिछानेले आफूलाई कसैको अनुकम्पा नचाहिएको र आफूले गल्ती नगरेकोले नडराएको स्पष्ट पारेका थिए । उनले अनुसन्धानमा सघाउन जहिल्यैपनि तयार रहेको उद्घोष गरेका थिए । उनले आफूलाई वर्तमान सरकारले जतिबेला पनि पक्राउ गर्नसक्ने भने सुनाएका थिए । रास्वपाकै मुख्यालयमा भेला भएकाहरुले भने सहकारी छानबिन समितिको प्रतिवेदनमा दोषी ठहर गरेकोले अब कानूनी प्रक्रियालाई सघाउनुपर्ने गाईंगुईं गरेका थिए ।

कतिपयले भने शिशिर खनालले नै समितिको प्रतिवेदनमा हस्ताक्षर गरेकोले कतै सभापतिविरुद्ध षड्यन्त्र नै रचिएको होईन भनेरपनि चर्चा गरेका थिए । अहिले रास्वपाको नेतृत्व हत्याउनको लागि डिपी अर्याल र डा. स्वर्णिम वाग्लेको प्रतिष्पर्धा रहेको चर्चा छ । वाग्लेको पक्षमा आधा दर्जन सांसद रहेको बताईएको छ । अहिले वाग्ले १४ जनाको टोली लिएर चीन भ्रमणमा छन् । त्यो भ्रमण दलमा खनालपनि छन् । उनीहरुलाई आजै स्वदेश फर्किन भनिएको थियो ।

तर, टिकटको व्यवस्था नभएको कारण देखाउँदै भ्रमण टोली उतै अड्किएको छ । वाग्लेले त आफूले कहिल्यैपनि नेतृत्वमा दृष्टि नराखेको र रवि लामिछानेकै नेतृत्वमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले लामिछाने नेतृत्वको रास्वपालाई पनि विभाजनको लागि माहोल बनाएको चर्चा छ ।

अहिले रास्वपाबाट निष्कासित मुकुल ढकालले लामिछानेविरुद्ध फायर खोलेका छन् । उनकै नेतृत्वमा रास्वपाभित्र विद्रोह हुने हल्ला थियो । अबको एक साताभित्रै लामिछाने नेतृत्वको दल छिन्नभिन्न बनाउनेगरि कांग्रेस र एमालेको नेतृत्वबाट होमवर्क भएको पनि चर्चा छ । file photo



प्रतिक्रिया दिनुहोस्