Logo

मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा असर पर्न सक्ने



काठमाडौं, असोज ८ । आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले सोमबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले कृषि कर्म सुरु गर्नुअगावै अध्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न अनुरोध गरेको छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण आज दिउँसोदेखि देशभर आंशिकदेखि साधारणतया बदली रही लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा केही स्थानमा मध्यम र एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

जारी बुलेटिनमा सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम तथा मधेस प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्