काठमाडौँ, ८ असोज । सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ आज स्वदेश फर्किएकी छिन् । चीनको हान्झाउमा आयोजित २०औँ एसिया सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामालगायत खेलपदाधिकारीले स्वागत गरे ।
एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालका कुनै पनि खेलाडीले अहिलेसम्म पदक जित्न सकेका थिएन । नेपाल पुलिस क्लबबाट कराते खेल्न सुरु गरेकी एरिका पहिलोपटक १९औँ एसियाडमा छनोट भएकी थिइन्। उक्त प्रतियोगितामा पनि उनले रजत पदक हात पारेकी थिइन् । रासस