Logo

भानुमा छयानब्बे गाईभैँसीको थुनेलो परीक्षण



तनहुँ, ९ असोज । जिल्लाको भानु नगरपालिकाको पशुपक्षी तथा मत्स्य विकास शाखाले व्यावसायिक किसानका गाईभैँसीको दूधको नमूना सङ्कलन गरी परीक्षण गरेको छ । शाखाले पशुहरुमा हुने थुनेलो रोग रोकथामका लागि परीक्षण गरी किसानलाई औषधि तथा उपचार सामग्री निःशुल्क उपलब्ध गराएको हो ।

नगरपालिकाले आयोजना गरेको शिविरमा ५६ किसानका ९६ वटा गाईभैँसीको दूधको नमूना सङ्कलन गरी परीक्षण गरिएको पशु सेवा प्राविधिक अमित ढुङ्गानाले जानकारी दिए । उनले भने, “५६ गाई र ४० भैँसीको दूधको नमूना परीक्षण गर्दा १३ किसानको २३ गाई र १२ भैँसीमा थुनेलो सङ्क्रमण देखिएको छ ।”

भानु–८ बगालेफाँटमा रहेको प्रगति दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानका पशुको दूधको थुनेलो परीक्षण गरिएको ढुङ्गानाले बताए । उनका अनुसार सङ्क्रमण देखिएका पशुलाई उपचारका लागि बेटाडिन, मास्ट मलम, गिलसिरिन र गाईभैँसीको थुन उपचारमा सहयोग सामग्री, मिनिरल, भिटामिनलगायत सामग्री वितरण गरिएको छ ।

थुनेलो देखिएका पशुलाई औषधिसहितको सामग्री वितरणअघि उपचार तथा प्रयोग विधिसहित थुनेलो रोगका लक्षण, यसबाट हुने असर, रोग लाग्न नदिने उपायका बारेमा प्रशिक्षण पनि दिइएको थियो । भानु–८ र ९ का पशुपालन फार्म सञ्चालक किसानलाई शाखाका प्रमुख डा सुशील ऐरी, पशु सेवा प्राविधिक महेन्द्र अधिकारीले सहजीकरण र उपचार सामग्री वितरण गरेका थिए ।

पछिल्लो समय गाईभैँसीमा यो रोगको सङ्क्रमण बढिरहेको पाइएकाले यसको नियन्त्रण र रोकथामका लागि नमूना सङ्कलन गरी परीक्षण गरिएको हो । रोगका कारण दूध उत्पदनमा कमी हुने र पशुको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले किसानको लगानी जोखिममा पर्ने गरेको छ ।

दुहुनो गाईभैँसीको सरसफाइमा किसानको लापरबाही गर्नु, ज्ञानको कमीलगायत कारणले थुनमा सङ्क्रमण भई थुनेलो लाग्ने पशु चिकित्सक बताउँछन् ।रासस



प्रतिक्रिया दिनुहोस्