Logo

सुरक्षित गर्भपतन सेवा दिवसः मातृमृत्युदरमा सुधार हुँदै



काठमाडौँ, १० असोज । आज दशौँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । विसं २०५९ मा तत्कालीन मुलुकी ऐनको ११औँ संशोधनबाट गर्भपतनलाई कानुनी मान्यता दिइएको दिनको सम्झनामा आज यो दिवस मनाउन थालिएको हो ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले गर्भपतनलाई महिलाको अधिकारका रुपमा स्थापित गरी सेवा विस्तार गरेको २२ वर्षको अवधिमा महिलाको प्रजनन स्वास्थ्यमा प्रगति हुँदै गएको बताए ।

“नेपालमा प्रतिएक लाख जीवित जन्ममा सन् १९९६ मा पाँच सय ३९ मातृमृत्युबाट सन् २०२१ मा एक सय ५१ मा झारेर उल्लेख्य सुधार गर्न सफल भएका छौँ । सन् २०३० सम्म ७० जनामा मातृमृत्युदर झार्ने लक्ष्य लिएका छौँ”, उनले भने ।

डा लालले असुरक्षित गर्भपतनका कारण महिलाहरुको स्वास्थ्यमा हुने प्रजनन रुग्णताको न्यूनीकरण गर्न पनि सफल भएको बताए । उनका अनुसार गत आर्थिक वर्षमा एक लाख पाँच हजार महिलाले सूचीकृत स्वास्थ्य संस्थाहरुबाट सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

दश हप्तासम्मको औषधीको प्रयोगद्वारा गरिने गर्भपतन सेवाका लागि एक हजार छ सय ८३ स्वास्थ्य संस्था र चार हजार दुई सय ३५ स्वास्थ्यकर्मी, १० हप्तासम्मको औषधीको तथा उपकरणको सहायताद्वारा गरिने गर्भपतनका लागि सात सय ३० स्वास्थ्य संस्था र एक हजार चार सय १९ स्वास्थ्यकर्मी, १२ हप्तासम्मको उपकरणको सहायताद्वारा गरिने गर्भपतनका लागि तीन सय ५० स्वास्थ्य संस्था र दुई हजार आठ सय ६० चिकित्सिक तथा स्वास्थ्यकर्मी र १२ हप्ताभन्दा माथिको गर्भपतन सेवाका लागि ६३ वटा स्वास्थ्य संस्था र एक सय ८७ जना चिकित्सकलाई सूचीकृत गरिएको परिवार कल्याण महाशाखाका निर्देशक डा लालले जानकारी दिए ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५, जनस्वास्थ्य सेवा ऐन, २०७५ र नियमावली, २०७७ ले सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा, परामर्श तथा प्रेषण, गर्भपतन पश्चात् सेवा तथा आवश्यक परामर्श र परिवार नियोजन सेवालाई आधारभूत स्वास्थ्य सेवामा परिभाषित गरेको छ ।

महाशाखाका निर्देशक डा लालले सुरक्षित गर्भपतन सेवा विस्तार गरी हरेक महिलाको सहज पहुँच हुने वातावरणको विकास गर्दै लैजाने लक्ष्य लिइएको उल्लेख गर्दै सोही अनुरुपका कार्यक्रमहरु सञ्चालन भइरहेका जानकारी दिए । उनका अनुसार गर्भपतन सेवा देशभरि उपलब्ध छ ।

“सम्मानजनक प्रजनन स्वास्थ्य तथा गर्भपतन अधिकारप्रति हाम्रो समर्पण दृढ छ र यो सेवा सबैको लागि उपलब्धता, पहुँचयोग्य, स्वीकार्य र गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध छ”, महाशाखाका निर्देशक डा लालले भने । यो वर्ष ‘सुरक्षित गर्भपतनका लागि अधिकार, पहुँच र ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ गर्भपतन सेवा दिवस मनाउन थालिएको हो । रासस



प्रतिक्रिया दिनुहोस्