Logo

युएन महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन : इजरायल–प्यालेस्टाइन द्वन्द्व शान्तिपूर्ण सम्वादबाट समाधान हुनुपर्छ



काठमाडौं, ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका छन् । संयुक्त राष्ट्र सङ्घको ७९औं महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्र सङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपालले विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई बृद्धि गर्न तयार रहेको बताएका हुन् ।

महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार बिहीबार साँझ ५ः३० बजे महासभामा सम्बोधन गरेका हुन । उनले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गरे ।

सशस्त्र द्वन्द्वपछि नेपालको शान्ति स्थापनाका प्रयासका आरोह अवरोहको व्याख्या गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसदबाट हालै पारित गराएको महासभालाई अवगत गराए । प्रधानमन्त्री ओलीले भने–‘दुई ठूला राजनीतिक दलको सहकार्यमा बनेको वर्तमान सरकार नेपाली जनताको समावेशी र समतामूलक समृद्धिका लागि आर्थिक रूपान्तरणलाई अघि बढाउँदै स्थायित्व कायम गर्न कटिबद्ध छ ।’

‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने गहिरो विश्वासका साथ हामीले हाम्रो विदेश नीति सञ्चालन गरिरहेका छौं’ भन्दै प्रधानमन्त्री ओलीले पारस्परिक सम्मान, सार्वभौम समानता, क्षेत्रीय अखण्डता, एकअर्काको आन्तरिक मामिलामा अहस्तक्षेप र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा रहेर नजिकका छिमेकी र अन्य मुलुकसँगको घनिष्ठ, सौहार्दपूर्ण र रचनात्मक सम्बन्धलाई थप सुदृढ गर्न नेपाल प्रतिबद्ध रहेको स्पष्ट गरे ।

इजरायल–प्यालेस्टाइन द्वन्द्व दुई मुलुकबीचको शान्तिपूर्ण सम्वादबाट समाधान हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए । प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ भित्रमा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने तर सन् २०३० भित्रमा दिगो विकास लक्ष्य हासिल गर्न २४ बिलियन अमेरिकी डलरको आर्थिक खाडल रहेको बताए । उनले विश्वका विकसित मुलुकको कार्बन उत्सर्जनबाट नेपाल प्रभावित हुनुपरेको र जलवायु न्यायको लाभ नेपालले पाउनुपर्ने धारणा प्रस्तुत गरे ।



प्रतिक्रिया दिनुहोस्