Logo

एमालेसँग जम्मा ३ लाख ५० हजार पार्टी सदस्य छन् : झलनाथ खनाल



काठमाडौं, ११ असोज । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालमा वामपन्थीहरुबीचको एकता नै आजको आवश्यकत्ता भएको औंल्याएका छन् । हिजो (बिहीबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले अहिले एमालेको नेतृत्व किन बाँगो बाटो हिँडिरहेको छ भनेर सारा नेपाली जनता आश्चर्यचकित भएको टिप्पणी गरे ।

उनले भने,‘एमालेका आम कार्यकर्ता अहिले भयंकर चिन्तित छन् । एमालेको भविष्य सोच्ने नेताहरुपनि आज चिन्तित देखिरहेको छु । एमाले नेतृत्वले जुन बाटो लिएको छ, त्यो सर्वथा गलत बाटो हो । कुनै न कुनै दिन पुगेर त्यो सच्याउनुपर्ने दिन आउँछ ।’ उनले एमाले विभाजन गर्न आफूले भूमिका नखेलेको पनि दाबी गरे ।

उनले एमाले विभाजनताका आफू नयाँ दिल्लीमा उपचारको क्रममा रहेको स्मरण गर्दै उनले आफूले पार्टी नफुटाउनुहोस भनेर वक्तव्य नै जारी गरेर हिँडेको पनि बताए । एमाले विभाजन गर्नु गलत थियो भनेर आफूले अहिल्यै नै नभन्ने भन्दै केही समय पर्खनुपर्नेमा जोड दिए । उनले घट्नाक्रम थप विकास हुँदै जाने पनि सुनाए ।

उनले जनताको बहुदलीय जनवाद भनेको पुँजीवादी लोकतन्त्र भएको टिप्पणी गरे । उनले भने,‘कुनैपनि कम्युनिष्टले जबजलाई समाजवाद भनेर कहीँपनि पुष्टि गर्न सक्दैन् । पुँजीवादी लोकतन्त्र त हामीले अहिले बनाएको संविधानले सबैलाई दिएकै छ त ।’

उनले अहिलेपनि पार्टीमा १ लाख ५० हजार सक्रिय कार्यकर्ता रहेको सुनाए । एमालेको जम्मा ३ लाख ५० हजारमात्रै पार्टी सदस्यहरु रहेको बताए । उनले आगामी निर्वाचनमा एमालेको शर्मनाक हार हुने भविष्यवाणी गरे ।

पत्रकार धमलाले एमाले अध्यक्ष केपी शर्मा ओलीले त अर्को निर्वाचनमा एमालेलाई पहिलो दल बनाउने दाबी गर्नुभएको छ नि ? भनेर सोधेको प्रश्नमा उनले भने,‘बहुमतको सरकार बनाउने लक्षण मैले दुई ठाउँमा देखें, एउटा अस्ति टुँडिखेलमा भएको पश्चिमको देउडा पर्वको दिन, भीम रावलले भाषण गर्नुभयो युवाहरुले ताली ताली दिए, अनि देशको प्रधानमन्त्री कमरेड केपी ओलीले भाषण गर्नुभयो, अनि हुटिङका हुटिङ आयो, केपी चोर देश छोडको नारा लाग्यो । अनि पूर्व प्रधानमन्त्री देउवाले भाषण गर्नुभयो, उहाँलाई त्यस्तै । हो, त्यहाँबाट पनि एउटा बहुमत आउने मैले राम्रो सम्भावना देखें । अहिले न्यूयोर्कमा हुनुहुन्छ, त्यहाँ नेपालीहरुले भव्य कार्यक्रमको लागि निम्ता गरेछन्, बोलाएछन् । तर, प्रधानमन्त्री र परराष्ट्रमन्त्री जान सक्नुभएन । अमेरिकाजस्तो विश्वको महाशक्ति देशले हामी तपाईंहरुलाई सेक्युरिटी दिन सक्दैनौं भनिदियो । यहाँभन्दा ठूलो बेईज्जती के हुन्छ ?’



प्रतिक्रिया दिनुहोस्