Logo

पर्यटन राज्यमन्त्री अरूण चौधरीलाई मन्त्रालयमा दिन काट्नै सकस



काठमाडौं, ११ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री अरुणकुमार चौधरी बेकामे भएका छन् । उनी नागरिक उन्मुक्ति पार्टीबाट सो जिम्मेवारीमा छन् । मन्त्रालयको नेतृत्व भने नेपाली कांग्रेसका सहमहामन्त्री बद्री प्रसाद पाण्डेले गरेका छन् । मन्त्रालयमा पाण्डेकै एकलौटी चल्ने गरेपछि राज्यमन्त्री चौधरी बेकामे बनेका हुन् ।

उनी मन्त्रालय भने नियमित आउजाउ गर्छन् । तर, मन्त्रीको कुर्सीमा बस्नुबाहेक र मन्त्रालय आउजाउको क्रममा झण्ड हल्लाउनुबाहेक अरू केही गर्न पाएका छैनन् । उनले अहिले आफूलाई भेट्न आक्कलझुक्कल आउने शुभेच्छुकहरुसँग बेकारमा यो पदमा बसिएछ भन्ने गरेका छन् ।

कांग्रेस र एमालेको बलियो सरकार भएकोले मन्त्रीहरुले राज्यमन्त्रीलाई खासै वास्ता नगरेको गुनासो यो पहिलो होईन । वन तथा वातावरण राज्यमन्त्री रुपा बिकको पनि त्यही हालत छ । उता, उर्जा मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारीमा रहेका पूर्णबहादुर तामाङको त झनै विजोग छ । उनी मन्त्री दीपक खड्काको छायाँमा परेका छन् ।

रुपा र पूर्णबहादुरको हकमा भने केही औपचारिकता अपनाईएको छ। उनीहरु आफ्नै दलको मन्त्रीसँगको सहकार्यमा छन् । तर, अरुणको हकमा भने फरक छ । मन्त्री पाण्डे कांग्रेसका शक्तिशाली नेता हुन् । पाण्डेले अरुणलाई टेरपुच्छर लगाउँदैनन् ।



प्रतिक्रिया दिनुहोस्