Logo

पोखरामा विश्व पर्यटन दिवस मनाइयो



गण्डकी, ११ असोज । पर्यटन राजधानी पोखरामा ४५औँ विश्व पर्यटन दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । यहाँस्थित पर्यटन सम्बद्ध विभिन्न सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गरी दिवस मनाएका हुन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले लगातार वर्षा भइरहे पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइएको बताउँदै कार्यक्रम भने केही प्रभावित भएका जानकारी दिए ।

परिषद्ले आज पोखरा विमानस्थलबाट पहिलो उडानमार्फत यहाँ आउने पर्यटकलाई स्वागत गर्ने तयारी गरेको थियो । लगातारको वर्षाका कारण उक्त कार्यक्रम गर्न नसकिएको परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिए ।

प्रत्येक वर्ष विश्व पर्यटन दिवसका अवसरमा पोखरामा हवाई र स्थल मार्गबाट आउने पर्यटकलाई पोखरामा स्वागत गर्दै विभिन्न प्याकेजसमेत उपलब्ध गराउने गरिएको छ । परिषद्ले आजै पर्यटन र शान्ति विषयमा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरेको छ ।

साथै नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्रभल्स एजेन्टस् (नाट्टा) गण्डकी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ४५ युनिट रगत सङ्कलन गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले जानकारी दिए ।

नाट्टा गण्डकी प्रदेशका तर्फबाट आजै स्थलमार्गबाट पहिलो पर्यटक सवारीसाधनमा यहाँ आउने पर्यटकलाई स्वागत एवं सम्मान गर्न लागिएको उहाँले बताए ।

कार्यक्रमका अवसरमा नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ (एनटिभिए) गण्डकी प्रदेशले पोखराको लेकसाइडबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म पर्यटक सवारीसाधन सहितको ¥याली प्रदर्शन गरेको छ । ¥यालीमा ६० वटा पर्यटक सवारीसाधन सहभागी गराइएको एनटिभिए गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए ।

पोखरामा लगभग चार सय ५० को सङ्ख्यामा पर्यटक सवारीसाधनले सेवा प्रवाह गरिरहेका बताउँदै उनले नयाँ इम्बोष्ड नम्बरका नाममा यसको पहिचान हराउन नहुने सन्देश प्रवाहका लागि पनि ¥याली आयोजना गरिएको जानकारी दिए ।

दिवसको पूर्वसन्ध्यामा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले पोखरा–१८ स्थित रिञ्जे नासा होमस्टेमा घरवास प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले जानकारी दिए ।

ट्रेकिङ एजेञ्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशले नयाँ पुल–मोरिया–लप्सीबोट हुँदै भुकदेउराली र त्यहाँबाट डाँडा कमेरे–फलाटे–ताङले–सरौँ सम्मको पदयात्रा कार्यक्रम आयोजना गरेको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

साथै अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरामा हिमालय फोटो प्रदर्शनी लगायतका कार्यक्रम आयोजना गरिएको सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिए । आजै रेवान पोखराको आयोजनामा लेकसाइडमा सडक महोत्सव आयोजना गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्