Logo

प्रचण्डले पनि बोलाए सर्वदलीय बैठक



काठमाडौं, असोज १३ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन्। अहिले बिहान १० बजे माओवादी केन्द्रको संसदीय कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक बोलाइएको हो । अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक आह्वान गरेको प्रचण्डको सचिवालयले जनाएको छ।

आजै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि सर्वदलीय बैठक आह्वान गरेका छन्। सिंहले दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बोलाएका हुन्। अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको जनाइएको छ ।

मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ । केही जिल्लामा मानवीय क्षति भएको छ । सडक, पुलपुलेसा पनि भत्किएका छन् । यसअघि कार्यवाहक प्रधानमन्त्री सिंहले शनिबार गृहमन्त्री रमेश लेखक, सुरक्षा अङ्गका प्रमुखहरु, मुख्यसचिव, सचिवलगायतबाट देशभरको विपद्को अवस्थाबारे जानकारी लिएका थिए।



प्रतिक्रिया दिनुहोस्