Logo

गोरखाबाट काठमाडौं आउँदै गरेको बस तीन दिनदेखि सम्पर्कविहीन



काठमाडौं, असोज १३ । शुक्रबार बिहान ८ः०० बजे गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ७ लापुवेशीबाट काठमाडौँका लागि छुटेको दरौँदी यातायात कम्पनी प्रा.लि. को ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्क विहीन भएको छ ।

बस, बसका चालक र त्यसमा रहेका यात्रुहरू अहिलेसम्म पनि सम्पर्कमा नआएकोले खोजी गरिदिन वडा अध्यक्ष, यातायात व्यवसायीले आग्रह गरेका छन् । बस, चालक, सहचालक र यात्रुहरू सम्पर्कमा नआएको गोरखा यातायात कम्पनी प्रा.लि.का अध्यक्ष नारायण खत्रीले बताए।

बस शुक्रबार दिउँसो १ बजे मुग्लिन आइपुगेको बसमा सवार रहेका मध्ये सूर्य गुरुङले बताए । म मुग्लिन झरेर नारायणगढ तर्फ लागेँ, मसँगै रहेको अर्को दाइ सोही बसमा काठमाडौँ जाँदै थिए । शुक्रबार राती १० बजे फोन गर्दा बस जाममा परेको छ बाहिर अँध्यारो भएकाले ठाउँमा थाहा छैन भनेका थिए, त्यस पछि सम्पर्क गर्दा सम्पर्क हुन सकेन, बस काठमाडौँ पनि पुगेको छैन, गुरुङले भने।

बसमा चालक बसका साहु आफै, तिवारी थरका सह चालक र यात्रुहरू रहेका थिए । आफन्त गन्तव्यमा नपुगेको थाहा पाएपछि खोजी गरिदिन आग्रह गरेसँगै बस हराएको थाहा हुन आएको गोरखा यातायात कम्पनी प्रा.लि.का अध्यक्ष खत्रीले बताए। बसमा कति यात्रु थिए भन्ने बारे खुल्न सकेको छैन् । कम्पनीका तर्फबाट बसको खोजीकार्य भइरहे पनि कुनै पत्ता लाग्न नसकेको भन्दै खोजीमा सहयोग गरिदिन सबैमा अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्