Logo

पत्रकार धमलाद्वारा नख्खु खोलामा बगेका तीन जनाको उद्धार गर्न सफल तामाङ र केसी सम्मानित



काठमाडौं, असोज १३ । ललितपुरको नख्खु खोलामा आएको बाढीले बगाएका चारजनामध्ये तीनजनाको सकुशल उद्धार गर्न सफल चणिकलाल तामाङ र पूर्ण केसीलाई पत्रकार ऋषि धमलाले सम्मान गरेका छन।

ललितपुर–२५, सुगम बस्तीस्थित नख्खु खोला किनारको एक टहरोको छतमा उद्धारको प्रतिक्षामा बसेका उनीहरुलाई शनिबार विहान बाढीले बगाएको थियो । बाढीमा बगेका चार जनामध्ये तीन जनालाई चणिकलाल तामाङ र पूर्ण केसीले उद्धार गर्न सफल भएका थिए ।

पेशाले घरहरुमा रंगरोगनको काम गर्दै आएका काभ्रेपलाञ्चोक तेमाल–९ का चणिकलाल तामाङ र सुगम वस्ती टोल सुधार समितिका अध्यक्ष समेत रहेका समाजसेवी पूर्ण केसीसहितले उनीहरुलाई उद्दार गरेर पाटन अस्पताल पु¥याएका थिए ।

आफ्नो ज्यान जोखिममा पारेर सुरक्षा निकायले उद्धार गर्न नसकेका व्यक्तिको उद्धार गरेको भन्दै दुबै जनालाई सम्मान गरिएको हो । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन कार्यक्रममा बोल्दै उनीहरु दुबै जनाले बाढीमा बगेर करिब २ सय मिटर तल पुपुगिसकेको अवस्थामा उनीहरुलाई उद्दार गर्न सफल भएको जनाएका छन्। उनीहरुको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ ।

नक्खु खोला किनारमा ग्रिल कारखाना र कवाड सामान राख्ने टहरोमा बस्दै आएका रौतहट घर भई सुगम बस्ती टोलमा बस्ने राजु साह, उनकी छ वर्षीय छोरी मेघना साह, राजुका भाइ राज साह र राजकी चार वर्षीय छोरी सेर्तु साहलाई खोलाले बगाएको थियो । चारैतिर खोलाले घेरेका उनीहरू छानामाथि चढेर उद्धारको याचना गरिरहेका बेला टहरासँगै बगेका थिए । बाढीमा बगेर राजकी चार वर्षीय छोरी सेर्तु अझै वेपत्ता छिन् ।



प्रतिक्रिया दिनुहोस्