Logo

दिल्लीमा पक्राउ परेका ढोरपाटनका मेयरलाई काठमाडौं हुँदै बागलुङ लगियो



काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली लाई बागलुङ लगिएको छ ।

सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीस्थित विमानस्थलबाट शुक्रबार पक्राउ परेका थिए । उनीसँगै सोही सहकारी ठगीमा संलग्न ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई पनि आइतबार काठमाडौं ल्याइएको थियो ।

इन्टरपोलमार्फत थप प्रक्रिया पूरा गरेर नेपाल ल्याइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ। काठमाडौं ल्याईएका दुवै जनालाई बागलुङ पठाईएको प्रहरीले जनाएको छ । सोमबार उनीहरुलाई अदालत लैजाने प्रहरीको तयारी छ ।

नेपालीमाथि इमेज सहकारीको बचत अपचलन गरेको आरोप छ । उनले यो सहकारीको एक अर्ब ८० करोड ठगी गरेर फरार भएका थिए । नेपालीले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिलाई हुलाकमार्फत पत्र पठाउँदै मुद्दा फिर्ता लिएर ऋण तिर्ने वातावरण नबाइदिन आग्रह गरेका थिए ।

उनीविरुद्ध सहकारी बचत रकम अपचलन अभियोगमा मुद्दा चलिसकेको छ । तर, महान्यायाधिवक्ताको कार्यालयले बैंकिङ कसुर र सहकारी ऐनअन्तर्गतका मुद्दामा ऋण तिरेको खण्डमा मिलापत्र गर्न सकिने व्यवस्था गरेसँगै उनी पक्राउ परेका हुन् ।

उनले आफूसँग भएको सम्पत्ति बेचविखन गरेर ऋण तिर्न सक्ने बताएका छन् । उनले आफूसँग ४४ ठाउँमा घरजग्गा रहेको विवरण सार्वजनिक गरेका थिए ।

उनले केही महिनाअघि सामाजिक सञ्जालमार्फत सम्पत्ति विवरण सार्वजनिक गर्दै आफू र आफ्नो श्रीमतीको नाममा भएको सम्पत्ति बेचेर सबै बचतकर्ताको ऋण तिर्ने बताएका थिए । सहकारी ठगी मुद्दामा मिलापत्र गर्न सकिने ढोका खुलेसँग उनी पक्राउ परेका हुन् । सबै ऋण तिरेर मिलापत्र गरेमा उनको मेयर पद पनि यथावत नै रहन्छ ।



प्रतिक्रिया दिनुहोस्