Logo

तनहुँमा दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण



तनहुँ, १४ असोज । तनहुँको म्याग्दे गाउँपालिकाले दुई सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण गरेको छ । कृषि उपज भण्डारण गर्न सहज बनाउने उद्देश्यले म्याग्दे–३ मा चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएको हो ।

सुरुमा दुई करोड र चालु आर्थिक वर्षमा एक करोड बीस लाखको लागतमा चिस्यान केन्द्र निर्माण गरेको हो । गाउँपालिकामा विशेष गरी सुन्तला, आलु खेती राम्रो हुन्छ । चिस्यान केन्द्र बनेपछि किसान उत्साहित भएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

“कृषि उपज भण्डारण गर्दा किसानसँग न्यूनतम शुल्क लिएर प्रोत्साहन गर्न लागिएको छ”, उनले भने, “गाउँपालिकामा चिस्यान केन्द्र बनेपछि उत्पादन भएका कृषि उपज भण्डारणका लागि पोखरा र चितवन जानुपर्ने बाध्यता हटेको छ ।”

ल्याण्डफिल साइड निर्माण

त्यसैगरी म्याग्दे गाउँपालिकाले म्याग्दे–२ स्थित बहपुरमा व्यवस्थित ल्याण्डफिल साइड निर्माण गरिएको छ । सङ्घीय सरकारको दुई करोड लगानीमा करिब २४ रोपनी जग्गा खरिद गरी ल्याण्डफिल साइड निर्माण गरेको हो । बहुवर्षीय योजना अन्तर्गत पहिलो वर्ष एक करोड ४० लाखको लागतमा निर्माण गरिएको हो ।

उक्त स्थानमा ल्याण्डफिल साइड सञ्चालनमा ल्याएपछि छिमेकीपालिका शुक्लागण्डकी र व्यास नगरपालिकाको फोहरमैलालाई समेत व्यवस्थित गर्न सकिने सो गाउँपालिकाले जनाएको छ । कुहिने फोहरलाई प्राराङिक मल बनाउने र नकुहिने बस्तुलाई पुनः प्रयोगमा ल्याइने गरी व्यवस्थित गर्न लागेको हो ।

गाउँपालिकाले अन्य पालिकासँग सम्झौता गरी शुल्क लिएर फोहरमैला व्यवस्था गर्न सकिने गाउँपालिकाका उपप्रमुख बालकृष्ण घिमिरेले जानकारी दिए ।

उक्त स्थानमा उत्पादन गरेको प्राराङिक मल प्रयोग गरी सोही स्थानमा व्यावसायिक सुन्तला खेती गर्ने योजना समेत रहेको उनले बताए । रासस



प्रतिक्रिया दिनुहोस्