Logo

राष्ट्रिय विपत्तिमा दलहरु विभाजित भएको भन्दै ऋषि धमला रिसले आगो, “देशले राजनेता खोजेको छ”



काठमाडौं, १५ असोज । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले नेपाली जनता महाभुकम्प, कोरोना र बाढी/पहिरोको विपत्तिको ठूलो मारमा परेको र ठूलो जनधनको क्षति भएको अवस्था सुनाउँदै अहिले राष्ट्रव्यापी रूपमा बृहत्त एकताको प्रदर्शन गर्नुपर्ने र विपत्तिको सामना गर्नुपर्ने बताएका छन् ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा आफ्नो धारणा राख्ने क्रममा उनले अहिले दलहरु र यसका सम्पूर्ण शक्ति जनता बचाउने अभियानमा एकजुट हुनुपर्ने बेला भएको औंल्याएका छन् । यस्तो बेलामा दलहरु विभाजित हुन नहुने उनको धारणा छ ।

उनले भने,‘सबै दल, नागरिक समाज र जनतालाई भन्न चाहन्छु अहिले बृहत्त राष्ट्रिय सहमति आवश्यक छ । संकट आयो । पोलिटिकल पार्टी एक ठाउँमा उभिनुपर्यो । संसद् र बाहिर भएका सबै दल एक ठाउँमा बस्नुहोस । जनतालाई राहत दिनुपर्छ । अहिलेको पहिलो प्राथमिकता भनेको नै उद्धार र राहत हो । हरेक राजमार्गमा यात्रु अलपत्र परेका छन् । पानी पनि पिउन पाएका छैनन् । विपी राजमार्गको अवस्था त्यस्तै छ । एकपटक नेतालाई म हेर्न जान भन्न चाहन्छु ।’

उनले सडकमा अलपत्र परेका नागरिकलाई बचाउने दायित्व तीनै तहका सरकारको भएको बताए । उनले भने,‘स्थानीय र प्रदेश सरकारले विशेष रुपमा राहतको व्यवस्थापन गर्नुपर्दैन् ? आज मुलुक राष्ट्रिय शोकमा छ । सबै शक्ति एक भएर जनता बचाउने हो । जनतालाई कसरी राहत र सेवासुविधा दिने कुरामा एजेण्डा तय हुनुपर्छ । कहाँ छ युवा संघ, वाईसिएल र तरूण दल ? अरुबेलामा झण्डा लिएर सडकमा आउने भातृ संगठन यसपटक सडकमा कहीँपनि देखिनँ । न उद्धार, न राहत र न व्यवस्थापनमा कहीँ पनि देखिनँ ।’

उनले दशैं मान्ने हो भने बालुवाटारमा बस्ने प्रधानमन्त्री र देशभरिका बाढी पहिरो पीडित नागरिकले समान रुपमा मनाउन पाउनुपर्ने बताए । उनले भने,‘अहिले नागरिक दशैं मान्न घर जाने अवस्था छैन् । यतिखेर सबै दल एक ठाउँमा बसेर राष्ट्रिय सहमति कायम गर्नुपदैथ्यो । प्रधानमन्त्रीले सबै दललाई बोलाएर निर्णय गर्नुपर्छ । सिंगो राष्ट्र एकजुट हुनुपर्छ । यो विपत्तिमा दलहरु किन विभाजित भए ? जनताको लागि काम गर्ने दल देशमा राष्ट्रिय विपत्ति पर्दा एक ठाउँमा उभिनुपर्छ । राष्ट्रिय स्वार्थमा हिँड्नुपर्छ । अहिले देशले एउटा दुरदर्शी राजनेता खोजेको छ । जनतालाई सर्वोपरि ठानेर काम गर्ने नेता खोजेको छ।

सो क्रममा धमलाले यात्रुलाई सहज यात्राको व्यवस्था गर्नेगरि काम गर्न राज्य संयन्त्रलाई आग्रह गरे । साथै, मनलागी हवाई भाडा नबढाउनपनि उनको चेतावनी छ । उनले भने,‘म विमान सञ्चालकहरुलाई भन्न चाहन्छु अब त्यहाँ कालोबजारी नहोस । राज्यले तोकेको दररेटमा उडान भर्नुहोस । ७ हजारको टिकटलाई १७ हजार नलिनुहोस । हामी देशमा ब्रम्हलुट कदापि स्विकार गर्दैनौं ।’



प्रतिक्रिया दिनुहोस्