Logo

प्रशारण लाइन प्रभावितलाई सीपमूलक तालिम



म्याग्दी, १६ असोज । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजना प्रभावितलाई सीपमूलक तालिम प्रदान गरिएको छ ।

प्राधिकरणको वातावरण विभागको आयोजनामा बेनीमा ६५ दिन सञ्चालन भएको तालिम आज सम्पन्न भएको हो । सम्बन्धित वडा कार्यालयको सिफारिसमा १५ जनालाई ‘हाउस वायरिङ’सम्बन्धी तालिम दिइएको विभागका वातावरणविद् नवराज पोखरेलले जानकारी दिए ।

उनीहरुलाई व्यावसायिक सीप तथा तालिम केन्द्रबाट मान्यता प्राप्त पहिलो तहको प्रमाणपत्र प्रदान गरिएको छ । म्याग्दी जिल्लामा घर तथा भवन निर्माणका लागि स्थानीय रुपमै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले हाउस वायरिङसम्बन्धी तालिम प्रदान गरिएको वातावरणविद् पोखरेलले बताए ।

रघुगङ्गा गाउँपालिका–३, बेनी नगरपालिका–९ र १०, मङ्गला गाउँपालिका–१, मालिका–६ र ७ मा प्रशारण लाइनको टावर निर्माण भइरहेको छ । १३२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइनको ८२ वटा टावरमध्ये हालसम्म ३० वटा निर्माण सकिएको र ४८ वटा निर्माणाधीन रहेका आयोजना प्रमुख रोशन अग्रवालले बताए ।

मालिका गाउँपालिका–७ डाडाखेतदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर १३२ केभी क्षमताको प्रशारण लाइन र दुवै ठाउँमा सवस्टेशन निर्माणका लागि चार वर्षअघि निर्माण थालिएको आयोजनाको ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ ।

म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन एसियाली विकास बैंकको ऋणमा सवस्टेशन र प्रशारण लाइन निर्माण गर्न लागिएको हो । रासस



प्रतिक्रिया दिनुहोस्