Logo

बाढी/पहिरो विपत्तिमा गृहमन्त्री लेखकको भूमिकालाई लिएर प्रधानमन्त्री ओली र सभापति देउवाद्धारा प्रशंसा नै प्रशंसा



काठमाडौं, १६ असोज । हालै आएको अविरल वर्षाको कारण देशव्यापी रुपमा बाढी तथा पहिरोको कारण ठूलो जनधनको क्षति भएको छ । अहिलेसम्म निधन हुनेको संख्या २२८ पुगेको छ । अझै २५ जनाभन्दा बढि नै बेपत्ता छन् ।

विपत्तिको बेलामा सरकार बेपत्ता भएको भन्दै नागरिकस्तरबाट सरकारको चर्को आलोचना भएको छ । विपत्तिमा नागरिकले ज्यान गुमाइरहेको बेलामा देशको सरकार प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली भने विदेश शयरमा मस्त रहेको भनेर सञ्जालभरि गालीले भरिएको आलोचना छ । स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको कारण पीडित परिवार झनै पीडामा परेका छन् ।

तर, विपत्तिको बेलामा गृहमन्त्री रमेश लेखकले एकदमै राम्रो भूमिका खेलेको भन्दै प्रधानमन्त्री ओलीले प्रशंसा गरेका छन् । उता, पार्टी सभापति शेरबहादुर देउवाले पनि गृहमन्त्री लेखकको खुलेर प्रशंसा गरेका छन् । विपत्तिको बेलामा नागरिकको जिउधनको रक्षाको लागि र क्षति हुन नदिनको लागि लेखकले सक्रिय भूमिका खेलेको भन्दै उनको नेतृत्व तहबाट प्रशंसा भएको हो ।

यस्तै, गृहमन्त्री लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले त्यसैअनुसार हाइअलर्ट रहन सुरक्षा निकायका प्रमुख, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र, र स्थानीय तहलाई निर्देशन दिएका छन् । मन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन आग्रह गर्दै यस्तो निर्देशन दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्