Logo

इरानले इजरायलमाथि गरेको आक्रमणको विश्वव्यापी विरोध, संयमता अपनाउन आग्रह



पेरिस, १६ असोज । तेहरानले इजरायलमाथि मिसाइल आक्रमण गरेपछि विश्वका नेताहरूले इरान र इजरायललाई संयमता अपनाउन आग्रह गरेका छन् ।

तेहरानले लेबनानमा हिजबुल्लाह विरुद्ध भूमि आक्रमण गरिरहेको भन्दै आक्रमण इरान समर्थित लडाकु नेताहरूको हत्याको प्रतिक्रिया स्वरुप भएको जनाएको छ ।

दमास्कसमा इरानी वाणिज्य दूतावासमा भएको इजरायली हवाई आक्रमणको बदलामा अप्रिलमा भएको मिसाइल र ड्रोन आक्रमणपछि इरानले इजरायलमाथि प्रत्यक्ष आक्रमण गरेको यो दोस्रो पटक हो ।

मिसाइलको आक्रमण पछि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले “मध्यपूर्वमा बढ्दो द्वन्द्व” को निन्दा गरेका छन् ।

गाजामा प्यालेस्टिनी हमास लडाकुसँगको युद्धसगैँ हिजबुल्लाहसँगको इजरायलको द्वन्द्वको आलोचना गर्दै गुटेरेसले पूर्ण रूपमा युद्धविरामको आवश्यकता रहेको बताएका छन् ।

यसै गरी अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनालाई “इरानी आक्रमण विरुद्ध इजरायली रक्षामा सहयोग गरी इजरायललाई लक्षित मिसाइलहरू नष्ट गर्नसमेत आदेश दिएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले उक्त आक्रमण “पूर्ण रूपमा अस्वीकार्य” भएको बताएका छन् ।

इजरायलले इरानी आक्रमणको बदला लिने वाचा गरेको छ । इरानमा प्रतिक्रीयात्मक आक्रमण गर्ने इजरायली सैन्य प्रवक्ता रियर एडमिरल डेनियल हागारीले बताएका छन् ।

बेरुतमा हिजबुल्लाह प्रमुख हसन नस्रल्लाह र तेहरानमा हमासका नेता इस्माइल हानियाहको हत्याको प्रतिशोधमा उक्त आक्रमण भएको हमासले जनाएको छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले इरानी आक्रमणको निन्दा गर्दै मध्यपूर्वमा व्याप्त ‘हिंसाको चक्र’ अन्त्य गर्न आह्वान गरेका छन् । विदेशमन्त्री जोस म्यानुएल अल्बेरेसले म्याड्रिडले द्वन्द्व पक्षलाई संयमता साथ अघि बढी तनाव नियन्त्रण गर्न आह्वान गरेका छन् ।

जर्मनी विदेशमन्त्री एनालेना बारबकले इरानलाई इजरायलमाथि गरेको क्षेप्यास्त्र आक्रमणको निन्दा गर्दै हिंसा अन्त्य गर्न आग्रह गरेका छन् ।

त्यसैगरी फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले इजरायल विरुद्ध इरानको आक्रमणको निन्दा गर्दै फ्रान्सले तेहरानको सामना गर्न मध्यपूर्वमा आफ्नो सैन्य स्रोतहरू “परिचालन” गरेको बताएका छन्।

बेलायती प्रधानमन्त्री कीर स्टारमरले इरानको आक्रमणको निन्दा गरेका छन् । आफ्ना इजरायली समकक्षी बेन्जामिन नेतान्याहुसँगको कुराकानीमा स्टारमरले “इजरायली सुरक्षा र नागरिकहरूको सुरक्षाका लागि बेलायतको दृढ प्रतिबद्धतासमेत पनि व्यक्त गरे ।

जापानका नयाँ प्रधानमन्त्री सिगेरु इसिबाले इजरायलमाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमण “अस्वीकार्य“ भएको बताएका छन् । यद्धको निन्दा गर्दै स्थितिलाई शान्त पार्न आवश्यक रहेको उनले बताए । रासस



प्रतिक्रिया दिनुहोस्