Logo

बाढीपहिराबाट तनहुँमा एक करोड क्षति



दमौली (तनहुँ), १७ असोज । हालैको बाढीपहिराबाट तनहुँको कृषि क्षेत्रमा एक करोड बढीको क्षति भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार बाढीपहिराबाट देवघाट, आँबुखैरेनी, बन्दीपुर र ऋषिङ गाउँपालिकामा मकै, बोडी, मास, कोदो, काउली, धान बालीमा एक करोड आठ लाख आठ हजार ३७० बराबरको क्षति भएको छ ।

वर्षा र बाढीपहिराले जिल्लाका ६७ हेक्टर क्षेत्रफलमा लगाइएका कृषिबालीमा क्षति भएको छ । देवघाटमा मकै, बोडी, मास, आँबुखैरेनीमा हिउँदे मकै, धान, कोदो, बन्दीपुरमा धानबालीमा हानी भएको छ । देवघाट गाउँपालिका–२, ३ र ५ मा बाढीबाट मकै, बोडी, मास, कोदो, काउली नष्ट हुँदा ५० हजार बराबरको क्षति भएको छ । पहिराबाट बोडी बीउ क्षति हुँदा रु एक लाख क्षति भएको छ । बाढीले धानखेतमा क्षति हुँदा दुई लाख ४० हजार बराबरको क्षति भएको केन्द्रले जनाएको छ ।

आँबुखैरेनी गाउँपालिकाका विभिन्न वडामा वर्षाका कारण हिँउदे मकै, धान, कोदो तथा दलहन बाली, तरकारी क्षति हुँदा ८६ लाख ७० हजार ५७० बराबरको क्षति भएको छ । बन्दीपुर गाउँपालिकाका विभिन्न वडामा बाढीपहिराले धानमा क्षति हुँदा १५ लाख ९१ हजार ८०० बराबरको क्षति भएको छ । ऋषिङ गाउँपालिकास्थित पहिराले कोदोमा क्षति हुँदा ६० हजार र सुन्तलाबोट ढल्दा ९६ हजार बराबरको क्षति भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्