Logo

प्राकृतिक विपत्तिपछि दाहालको अभिभावकीय भूमिका, काठमाडौंलगत्तै काभ्रेका पीडितहरुको घरदैलौमा



काठमाडौं, १७ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विपत्तिबाट निम्तिएको संकटलाई सबैले मिलेर सामना गर्नुपर्ने अपिल गरेका छन् । उनले यतिवेला सत्तापक्ष र प्रतिपक्ष नभनिकन पीडित परिवारलाई राहत दिलाउनुपर्ने दायित्व रहेको भन्दै त्यहीअनुसार भूमिका खेल्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् ।

उनी बाढी तथा पहिरोको कारण मानवीय र भौतिक क्षति भएका सबै ठाउँमा पुग्नेगरि सक्रिय भएका छन् । सुरुमा दाहाल काठमाडौंको बल्खु, ललितपुरको नख्खु क्षेको अवलोकनमा पुगेका थिए । त्यही दिन भक्तपुरको हनुमन्ते क्षेत्रमा पनि पुगेर उनले पीडितहरुलाई भेटेका हुन् । अहिले माओवादीको सिंगो पार्टी पँक्ति उद्धार, राहत तथा पूनस्थापनाको काममा सक्रिय छ । दाहाल भने हिजै काभ्रे पुगेका छन् । काभ्रे यसपटक ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्ने जिल्लामा परेको छ । स्थलगत अवलोकनपछि दाहालले पीडितहरु ठूलो पीडामा रहेको भन्दै यस्तो बेलामा राहत तथा पूनस्र्थापनामा सरकारले विशेष कदम चाल्नुपर्ने बताएका छन् ।

दाहालले सरकारले सर्वदलीय बैठक बोलाउन ढिलासुस्ती गरेको भन्दै आफ्नै पहलमा सर्वदलीय बैठक बोलाएर सरकारमाथि दबाब सिर्जना गरेका थिए । लगत्तै सरकारले सर्वदलीय बैठक राखेपछि दाहालले बोलाएको बैठक स्थगन गरिएको थियो । माओवादीले प्राकृतिक विपतमा परेका नागरिकहरुको सहयोग, उद्दार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन अभियान चलाएको छ । उक्त अभियानमा पार्टीका सबै समिति, निकाय, जनवर्गीइ संगठन र सामाजिक संगठनहरुलाई हातेमालो गर्न दाहालको अपिल छ । त्यहीअनुसार पार्टी पँक्ति परिचालित छ ।

अध्यक्ष दाहालले पार्टीको विपत् व्यवस्थापन विभाग, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय विशेष प्रदेश, उपत्यकाभित्रका पार्टी समितिहरु, युवा तथा जनवर्गीय संगठनहरुको पहल र समन्वयमा काठमाडौंको बल्खु, ललितपुरको नख्खु र भक्तपुरको हनुमन्तेखोला तथा आसपासका बस्तीमा विपतपछि उत्पन्न परिस्थितिको अनुगमन गरी जनताको गुनासो सुन्न र पुनर्निर्माणको संभावनाबारे अध्ययन गर्न स्थलगत अवलोकन गरेका थिए ।

मौसमको पूर्वाअनुमान हुँदाहुँदै सरकारले सोहीस्तरमा प्रतिकार्यको तयारी नगर्दा यति ठूलो क्षति पुगेको प्रचण्डको टिप्पणी रहँदै आएको छ । सरकारको भूमिकाबारे समीक्षा गर्दै जाने तर अहिले संकटको बेलामा सत्ता पक्ष र प्रतिपक्षभन्दा पनि नेपाली जनताको दुःख, कष्ट र पीडालाई केन्द्रमा राखेर सबै राष्ट्रिय एकताको भावसहित राहत, पुनर्स्थापना र पुननिर्माणमा जुट्न दाहालको अपिल छ । उनले सरकारलाई युद्धस्तरमा जनताको समस्या सुन्न र समाधान दिन गम्भीर ध्यानाकर्षण समेत गराएका छन् ।

आज भने दाहालले बाढी पहिरो र डुबानका कारण सबैभन्दा बढी प्रभावित जिल्ला काभ्रेको स्थलगत अनुगमनका क्रममा धुलिखेलमा काभ्रेका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखसहित कार्यालय प्रमुखहरुबाट बाढी पहिरोपछिको जिल्लाको अवस्था, पीडितहरुको उद्वार, राहत तथा पुनर्स्थापनाका बारेमा भएका कामको जानकारी लिएका छन् । सो क्रममा धुलिखेल अस्पतालमा घाइतेहरुलाई भेटेर उपचारबारे जानकारी लिनुका साथै बनेपा १२ पनौतीमा पुगेर ठूलो क्षति व्यहोरेको कलाती भूमिडाँडाको अवस्थाको पनि उनले अवलोकन गरेका छन् ।

दाहालको सचिवालयले भनेको छ,‘यी क्षेत्र र रोशी लगायत प्रभावित क्षेत्रको रिपोर्ट बुझ्दा स्थिति भयावह छ। अझै पनि केही नागरिक वेपत्ता हुनुहुन्छ भने केही नागरिक प्रभावित क्षेत्रमा फस्नु भएको छ। प्रभावित क्षेत्रमा खाद्यवस्तु लगायत आधारभूत मानवीय आवश्यकता परिपूर्ति हुन सकेको छैन।
स्थानीय प्रशासन, सुरक्षा संयन्त्र, राजनीतिक दल र सामाजिक संघसंगठन उद्वार र राहतमा खटेका छन् । तर, केन्द्रको योजनाबद्ध काममा अझै पर्याप्त उपस्थिति देखिएको छैन।’

दाहालले बेपत्ताको खोजी, पीडितलाई राहत र ढाडस, घाइतेको निशुल्क उपचार,आवासविहीनलाई आवास र पुनर्वासको व्यवस्था, सडक पूर्वाधारको पुनर्निर्माण, विद्युत आपूर्ति, सञ्चार सम्पर्कलगायतका अत्यावश्यकीय विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनको अपिलमा भनिएको छ,‘पीडामा रहेका जनतालाई साथ दिनु, उनीहरुलाई आशा र भरोसा दिनु हाम्रो कर्तव्य हो भन्ठानेर म जनताको बीचमा पुगिरहेको छु। आज पनि देशका केहि भागमा भारी बर्षाको पुर्वानुमान छ, सतर्क बनौं। म फेरि भन्छु( हामी तपाईहरुको सुखदुःखको साथी थियौ, छौं र रहनेछौ।’



प्रतिक्रिया दिनुहोस्