Logo

सेवा प्रवाह र राजश्व वृद्धिमा ध्यान दिन निर्देशन



कर्णाली, १७ असोज । कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले प्रभावकारी सेवा प्रवाह तथा राजश्व वृद्धिमा ध्यान दिन कर्मचारीलाई निर्देशन दिएका छन् ।

आज डिभिजन वन कार्यालय सुर्खेतको वीरेन्द्रनगरस्थित नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले कर्णाली प्रदेशमा राजश्व सङ्कलनको मुख्य आधार उद्योग, पर्यटन र वन क्षेत्र भएको बताए । “भवन सुविधा सम्पन्न बनेको छ,” उनले भने, “अब यहाँबाट प्रभावकारी सेवा प्रवाह गर्नुस् र राजश्व वृद्धि हुने क्रियाकलापमा जोड दिनुस् ।”

कर्णालीमा धेरै ठूलो उद्योग नभएपनि पर्यटन, जडीबुटी र वन राजश्व सङ्कलनको मुख्य स्रोत भएको मन्त्री अधिकारीको भनाइ छ । डिभिजन वन कार्यालय सुर्खेतका डिभिजन वन अधिकृत बसन्तबाबु श्रेष्ठले नवनिर्मित भवन प्रदेश सरकारको आफ्नै बजेटमा भ्याटसहित दुई करोड १७ लाखमा निर्माण भएको जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्