बाँके, असोज १८ । नेपालगञ्जमा ऐतिहासिक संस्कृतिको रूपमा रहेको रामलीला मञ्चनको एक सय ५७औँ संस्करण बिहीबारदेखि सुरु भएको छ।
रामलीला मैदानमा आयोजित एक सय ५७औँ संस्करणको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्घाटन गरे। सो अवसरमा बोल्दै नगरप्रमुख विष्टले रामलीला मञ्चन नेपालगञ्ज सहरको सांस्कृतिक पहिचान भएको बताए।
प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला मञ्चन हुँदै आएको छ। नेपालगञ्जको सांस्कृतिक परम्परालाई जोगाइराख्नका लागि सहयोग संकलन गरेर रामलीला महोत्सव गर्दै आएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए।
उनका अनुसार रामलीला मञ्चनका लागि भारतको वृन्दावनबाट कलाकार आएका छन्। नेपालगञ्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको संख्यामा मध्यरातसम्म सहभागी हुने गर्दछन्। धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ।
एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको एक सय ५३ र एक सय ५४औँ वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगन गरिएको थियो। सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ देखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ।
नेपालगञ्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँका संख्यामा मध्यरातसम्म सहभागी हुने गर्दछन्। धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ। रासस