Logo

विपत्तिमा नागरिक मर्दा परराष्ट्रमन्त्री राणालाई छोएन, २० दिनदेखि विदेश शयरमा मस्त



काठमाडौं, १८ असोज । परराष्ट्रमन्त्री डा. आरजु राणा विदेश शयरमा व्यस्त छिन् । मुलुक प्राकृतिक विपत्तिको मारमा परेको बेलामा उनी भ्रमण छोट्याएर स्वदेश फर्किनुको साटो एकपछि अर्को गरेर विभिन्न देशमा अनावश्यक व्यस्त बनेकी छिन् । उनी २० दिनदेखि विदेशमा छिन् । देशमा अविरल वर्षाको कारण बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको छ । दुई सय भन्दा बढि नागरिकले ज्यान गुमाएका छन् ।

अझै दुई दर्जन बेपत्ता भएको सरकारकै तथ्यांक छ । तर, मन्त्री राणालाई यसले छुन सकेन । नागरिकले विपत्तिमा परेर ज्यान गुमाईरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीपनि अमेरिकामा व्यस्त थिए । उनीपनि अनावश्यक कार्यक्रम लम्ब्याएर बसेका थिए । युएनको महासभामा सम्बोधन गरेपछि भ्रमण छोट्याएर स्वदेश फर्किनुको साटो उनीपनि झिनामसिना कार्यक्रममा व्यस्त बने । स्वदेश फर्किनेबित्तिकै नागरिकलाई भरोसा दिलाउनुको साटो उल्टै पीडामा पीडा थप्नेगरि तितो वचन बोले ।

अहिले प्रधानमन्त्री ओलीको सर्वत्र आलोचना भैरहेको छ । विपत्तिले ठूलो जनधनको क्षति भएको ठाउँमा सरकारको खासगरी प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थिति देखिएको छैन् । बरु, प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड बाढि र पहिरो प्रभावित जिल्लाहरु काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेको स्थलगत अवलोकन गरेर फर्किए ।

तर, सरकारको उपस्थिति देखिएन । परराष्ट्रमन्त्री राणाले त प्रधानमन्त्री ओलीले भेटिसकेका विदेशी अधिकारीहरुसँग पूनः भेटवार्ता गरेको तस्विर बाहिरिएका छन् । भदौ ३१ गते नै क्यानडा पुगेकी राणा उतैबाट अमेरिका गएकी थिईन् । अमेरिकाबाट हिजोमात्रै उनी कतार आईपुगेकी छिन् । देशमा नागरिकले विपत्तिमा परेर ज्यान गुमाउँदा राणालाई कुनै चिन्ता छैन् । उनको पनि अहिले आलोचना भैरहेको छ।

कतिसम्म भने मन्त्री राणाले सामाजिक सञ्जाल फेशबुकमा विभिन्न देशका अधिकारीसँग भेटेका तस्विर सार्वजनिक गरेकी छिन् । तर, नेपालमा विपत्तिले निम्त्याएको कहर र यसले पुर्याएको मानवीय क्षतिबारे एक शब्दपनि लेखेकी छैनन् ।



प्रतिक्रिया दिनुहोस्