Logo

प्रभु साहले ओली सरकारलाई नालायकको संज्ञा दिए, सरकार पूर्ण रूपमा असफल भएको दाबी



रौतहट, २१ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अविरल वर्षाको कारण आएको बाढी/पहिरोले पीडितलाई सरकारले राहत उपलब्ध नगराएको भन्दै सरकारलाई ‘नालायक’ भएको टिप्पणी गरेका छन् । महापर्व दशैं, दिपावली एवं छठ पर्वको शुभ अवसरमा रौतहटको फतुवाबिजयपुर नगरपालिकाको बैरगनियामा आज आजपाद्धारा आयोजित भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा सहभागि साहले बाढी/पहिरोबाट पीडितको उद्धारमा सरकारले ढिलाई गरेकाले अमूल्य जनधनको ठूलो क्षति भएको बताए ।

‘सरकारले समयमै पीडितको उद्धार गरेको भए सयौं मान्छेको मृत्यु हुदैन्थ्यो । अर्बौको क्षति हुँदैन्थ्यो । उद्धारका लागि छटपटाइरहेका पीडितहरु अहिले राहतका लागि पर्खिरहेका छन् । तर पीडितको उद्धारमा असफल र असक्षम रहेको सरकार कता छ, खोज्नुपर्ने अवस्था छ’ आजपा अध्यक्ष साहले भने, ‘किसानले लगाएको बाली घर भित्रयाउने बेलामा बाढीले क्षति भएको छ । सर्वसाधारण किसान बिहान बेलुका के खाने, कहाँ बस्ने ठेगान छैन् । तर सरकार अतिरिक्त तलब लिएर खसी काटेर दशैंको भोजमा रमाईरहेको छ । सर्वसधारणको बारेमा सोच्ने, बोल्ने, राहत दिने उनीहरुलाई फुर्सत नै छैन् ।’

बाढीपहिरोमा परी अमूल्य जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गर्दै उनले राहत वितरणमा ढिलाई नगर्न सरकारलाई सुझाव दिएका छन् । पूर्वसूचना हुँदाहुदै समेत सरकारले विपतको बेलामा गर्नुपर्ने तयारी नगरेको र उद्धार प्रभावकारी रुपमा नगरेकाले बढी क्षति हुन गएको उनले बताए । बाढीपहिरोले बिभिन्न राजमार्ग अवरुद्ध रहेको सुनाउँदै सडकमा यात्रा गर्न सहज नभएको बताउँदै उनले सरकारी संरक्षणमै यातायातको भाडामा मनोमानी रुपमा लुट मचाइएको बताए । बाढीपहिरोले पीडित नेपाली नागरिक महंगीले थप पीडामा परेको बताउँदै आजपा अध्यक्ष साहले महंगी नियन्त्रण गर्न नसकेको सरकार पूर्ण रुपमा असफल र असक्षम रहेको टिप्पणी गरेका छन् ।

‘सरकारी संरक्षणमै व्यापारीले लुट मचाएका छन् । यातायातका भाडामा मनोमानी रूपमा यात्रुबाट लुटिदैछ । यहाँ सरकार नै नभएकोजस्तो छ । सरकार भएको भए यसलाई नियन्त्रण गथ्र्यो, सहज बनाउथ्यो’ आजपा अध्यक्ष साहले भने, ‘पशुपति शर्माको गित जस्तै भएको छ यहाँ, लुटन सके लुट कान्छा, नेपालमै छ छुट….।’

सांसद समेत रहेका आजपा अध्यक्ष साहले यसअघि चाडपर्व वापतको दिइने दशैं बोनस रोकेर बाढीपहिरो पीडितलाई दिनुपर्ने सुझाव दिएका थिए । ‘सरकारी मान्छे जनताको करबाट तलब खाने तर जनताको दुखको बेला साथ नदिने । भाग्ने, भगौडाहरु दशैमा जनताकै पैसाबाट खसी काटेर रमाउन खोज्नु कतिको जाय हो ? बाढीपहिरो पीडितहरु दुखमा परेको बेला दशै बोनस नलिई पीडितलाई दिदा के बिग्रिन्थ्यो ?’ उनले प्रश्न गरेका छन् ।

सरकारले देशैभरीका कर्मचारीलाई चाडपर्व वापत दिने एक महिनाको अतिरिक्त रकम ३० अर्बभन्दा बढी हुने भएकाले त्यो रकमले बाढीपहिरो पीडितको घर निर्माण, खाना लगायतका क्षेत्रमा खर्च गर्दा राम्रो हुने सुझाव उनले दिएका छन् ।

कार्यक्रममा आजपाका नेताहरु पुर्वसंसद समीना हुसेन, महासचिव त्रिभुवन साह, उपमहासचिव सियाराम कुशवाहा, मेयर प्रत्याशी बिजय यादव , वार्डाध्यक्ष संजय यादव लगायतको विशेष सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्