Logo

बाढीका कारण आंशिक प्रभावित मेडिसिटी अस्पतालका सबै सेवा पूर्ण रूपमा सुचारू (भिडिओसहित)



काठमाडौं, २१ असोज । नख्खु खोलामा आएको बाढीको कारण आंशिक रूपमा प्रभावित बनेको नेपाल मेडिसिटी अस्पतालका सबै सेवा पूर्ण रूपमा सुचारू भएका छन् । अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले आज (सोमबार) साँझ एक भिडिओ सन्देश जारी गर्दै बाढीका कारण आंशिक रूपमा प्रभावित बनेका सेवाहरु अहिले पूर्ण रूपमा सुचारू भएको जानकारी दिएका छन् ।

अस्पतालका समर्पित चिकित्सक तथा कर्मचारीहरूको अथक प्रयासले सम्पूर्ण सेवाहरु यथाशिघ्र सुचारु गर्न सम्भव भएका अध्यक्ष डा. महतोको भनाई छ । भिडिओ सन्देशमा महतोले भनेका छन्–‘तपाईंहरुको निरन्तर विश्वास र समर्थनको लागि हामी आभारी छौं ।’

उनले प्राकृतिक प्रकोपको कारण देशव्यापी रूपमा मुलुकले व्यहोरेको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । आफू नेतृत्वको अस्पतालपनि प्रकोपबाट प्रभावित बनेको भन्दै महतोले अस्पतालका चिकित्सक, कर्मचारीहरु सबैको अथक साथ र सहयोगले छोटो समयमा नै अस्पतालले आफ्नो प्रभावित सेवाहरु सुचारु गर्न सफल भएको स्पष्ट पारे ।

उनले भने,‘यस्तो अप्ठ्यारो समयमा पनि हामीलाई विश्वास, भरोसा र साथका साथै आर्शिवाद दिनुभएकोमा सबैप्रति हृदयबाटै आभार र धन्यवाद प्रकट गर्न चाहन्छु । हाम्रो अस्पताल सधैं तपाईंहरुको स्वास्थ्य सेवामा समर्पित छ । हामीले नेपाललाई एउटा अन्तर्राष्ट्रिय मेडिकल हब बनाउने अभियानका साथ अघि बढाउने संकल्प लिएका छौं । त्यही नारा बोकेर अघि बढेका छौं । हाम्रो यो अभियानमा यहाँहरुको अझै निरन्तर साथ र सहयोग रहनेछ भन्ने विश्वास लिँदै अस्पताल यहाँहरुको पूर्ण स्वास्थ्य सेवामा समर्पित रहने प्रतिबद्धता जनाउन चाहन्छु ।’

अस्पतालमा आएका विरामीहरुले पनि छोटो समयमा नै मेडिसिटी अस्पतालले बाढीका कारण अवरुद्ध आफ्ना सेवाहरु पूर्ण रुपमा सुचारु गरेको देख्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्