Logo

दशहरा पर्वको छैटौँ दिन आज ‘बेलनौत’ गरिँदै



काठमाडौं, असोज २२ । मधेसको प्राचीन मिथिला क्षेत्रमा दसैँ पर्वलाई ‘दशहरा’ भनिन्छ । शारदीय नवरात्र पनि भनिने यस पर्वको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ विधि सम्पन्न गरिँदैछ । नवरात्रको छैटौँ दिन अर्थात् षष्ठी तिथिका दिन यो विधिको परम्परा छ । पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी दुर्गाका प्रतिमाका आँखा उघार्ने प्रयोजनका लागि ‘बेलनौत’ विधि आयोजन गरिने पुरानो मैथिल परम्परा हो ।

मिथिला क्षेत्रमा दशहारा (बडादसैँ) पर्वमा माटो मुछेर बनाइएका देवी प्रतिमाका आँखा सप्तमीका दिन खोल्न (उघार्न) बेल (फल)को भेट्नो प्रयोग गरिने परम्परा छ । यसका लागि एक दिनअघि षष्ठी तिथिका दिन मध्याह्नपछि देवी प्रतिमास्थलबाट बाजागाजासाथ बस्ती नजिकको बेलको रुखमा चढेर एउटा बेल फललाई रातो रुमालले बाँध्ने विधिलाई मिथिलामा ‘बेलनौत’ भन्ने गरिन्छ । आज षष्ठीका दिन यही विधि उल्लासमय वातावरणमा सम्पन्न गर्न हिन्दू मैथिलले तयारी गरेका छन् ।

षष्ठीका दिन वैदिक मन्त्रोच्चारणसहित निम्ता गरेर बाँधिएको बेलको फल भेट्नुसहित सप्तमीका दिन बिहानै टिपेर सोही फलको भेट्नुले प्रतिमाको आँखा कोट्याएर उघार्ने गरिन्छ । देवी प्रतिमाको आँखा उघार्न शास्त्रले पवित्र मानेको बेल फलको भेट्नो प्रयोग गर्ने परम्पराअनुसार सो प्रयोजनका लागि बेलको फललाई निम्ता गर्ने भाव यो विधिमा रहेको मैथिल परम्परा र कर्मकाण्डका ज्ञाता बताउँछन् । मिथिलामा आँखा उघारिएपछि प्रतिमा पूर्ण सजीव भएको मानिने बर्दिबास-२ का बासिन्दा मैथिल परम्परा र कर्मकाण्डका ज्ञाता दिनेश झा बताउँछन् ।

सप्तमीका दिन एक दिनअघि निम्ता गरिएको बेलको फल भेट्नोसहित टिपेर ल्याई पुरोहित ब्राह्मणले भेट्नोले खोस्रेर प्रतिमाको आँखा उघारिदिएपछि मात्र देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिन्छ । सप्तमीका दिन बिहान एक दिनअघि निम्ता गरिएको बेल टिप्न पनि बाजागाजासाथ पुग्ने चलन छ । बेल टिप्ने यो विधिलाई ‘बेलतोडी’ भनिने गरिएको मैथिल परम्पराका जानकार महोत्तरीको जलेश्वर नगरपालिका–४ सुगाभवानीपट्टीका बासिन्दा पूर्वप्रशासक ८० वर्षीय कृष्णचन्द्र झा बताउँछन् ।

दशहरा पर्वका अवसरमा मिथिला क्षेत्रका बस्ती–बस्तीमा जसो देवी प्रतिमा बनाइएका छन् । ‘बेलनौत’ विधि सम्पन्न गरिने तयारीमा मिथिलाका बासिन्दा जुटेसँगै पर्वको चहलपहल निकै बढेको छ । पर्वविशेषमा माटो मुछेर बनाइएका प्रतिमाबाहेक अघिदेखि नै काठ वा धातुका देवी प्रतिमाका लागि आँखा उघार्न आवश्यक नभएकाले त्यस्ता प्रतिमास्थलमा ‘बेलनौत’ विधि आवश्यक नरहेको मिथिला संस्कृति परम्पराका ज्ञाता बताउँछन् ।

यद्यपि यस्ता मन्दिरमा पनि निम्ता गरिएको बेल फल टिपेर ल्याई देवी प्रतिमा नजिक राख्ने चलन छ । पर्व विशेषमा बनाइएका देवी प्रतिमा विजयादशमीका दिन धार्मिक महत्वका नदी वा गहिरो तलाउमा विसर्जन गरिने परम्परा छ । यसलाई मिथिलामा मूर्ति भसाउने भनिन्छ । रासस



प्रतिक्रिया दिनुहोस्