Logo

‘हुलाक सेवालाई थप प्रविधिमैत्री बनाउन आवश्यक छ’



काठमाडौँ, २३ असोज । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक सेवालाई समयानुकूल बनाउन संरचनागतदेखि ऐनमा सुधार ल्याउन आवश्यक रहेको बताएकी छिन् ।

१५०औँ विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवा विभागद्वारा आज यहाँ आयोजित हुलाक टिकट प्रदर्शनी कार्यक्रमको शुभारम्भ गर्दै उनले हुलाक सेवालाई थप सूचना प्रविधि मैत्री बनाउँदै युवा पुस्तामा यसप्रतिको आकर्षण बृद्धि गरिनुपर्छ भनिन् । उनले भनिन्, “हुलाक सेवालाई अझ सदृढ बनाउन मन्त्रालय साथ दिनेछ । यसका लागि हुलाक विभागका कर्मचारीलाई थप सिर्जनशील भएर सेवा प्रदान गर्न म आग्रह गर्दछु । ”

नेपाल फिलाटेलिक सोसाइटीको सहकार्यमा विभागले हुलाक टिकट प्रदर्शन आयोजना गरेको हो । प्रदर्शनीमा नेपाललगायत विश्वभरका हुलाक टिकट राखिएका छन् । सो अवसरमा विभागका निमित्त महानिर्देशक ध्रुवराज आचार्यले नेपालमा विंस १९३५ मा हुलाक घरबाट सुरु भएको हुलाक सेवाका समयले निम्त्याएका थुप्रै चुनौती सामना गर्दै आउनुपरेको बताए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिडिया सेन्दश दिएको थियो । सन्देशमा नेपाल हुलाक सेवाका विभिन्न आयाममा अभ्यस्त हुने क्रममा रहेको र यसको विकासका लागि थप अग्रसर हुँदै आएको उल्लेख छ । विश्वभरको हुलाक सेवा प्रभावकारी बनाउने हेतुले सन् १८७४ अक्टोबर ९ मा विश्व हुलाक सङ्घ स्थापना भएको हो । नेपालले सन् १९५६ जुलाई ११ मा सङ्घको सदस्यता लिएको थियो ।

हुलाक सेवा विभागका निर्देशक विशाल सापकोटा, नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष चन्द्र रवि श्रेष्ठ, नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनका अध्यक्ष टङ्कप्रसाद हुमागाईं लगायतले हुलाक सेवाको विगत, वर्तमान र भविष्यबारे धारणा व्यक्त गरेको थियो । एक दिने प्रदर्शनीमा मिलनचन्द्र जोशी, मन्दिरा प्रधानाङ्ग, रिदिमा शाक्य, दिनेशराज मास्के, दीपेन्द्ररत्न शाक्य, किशोर शर्मालगायतले टिकट सङ्कलन गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्