Logo

एमालेले पार्टी कार्यालय निर्माणको लागि विवादास्पद व्यवसायी मीनबहादुरबाट आर्थिक सहयोग लिनु चिन्ताजनक : कुमार पन्त



काठमाडौं, २९ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष तथा सफल व्यवसायी कुमार पन्तले एमालेले आफ्नो पार्टी कार्यालय बनाउनको लागि भाटभटेनीका मालिक मीनबहादुर गुरुङबाट आर्थिक सहयोग लिएको कुरा अत्यन्त चिन्ताजनक रहेको टिप्पणी गरेका छन् ।

प्रायः सामाजिक सञ्जालमा त्यति सक्रिय नहुने पन्तले यो विषयमा भने आफूले खुलेर धारणा राखेका छन् । उनले व्यवसायीबाट आर्थिक लिने विषयले जनतामा पार्टीहरुप्रति रहेको विश्वासमा गम्भीर ह्रास ल्याउने जोखिम पैदा गर्ने उल्लेख गरेका छन् । उनले यस्तो घट्नाले पार्टीको छविपनि बिग्रिने र नागरिकको मनोबलमा पनि नकारात्मक प्रभाव पार्ने दाबी गरेका छन् ।

यस्तो छ पन्तको धारणा-

नेपाल कम्युनिष्ट पार्टी एमालेले आफ्नो कार्यालय निर्माणका लागि विवादास्पद व्यवसायी मिन बहादुर गुरुङबाट आर्थिक सहयोग लिएको कुरा अत्यन्त चिन्ताजनक छ। यसले जनतामा पार्टीहरूप्रति रहेको विश्वासमा गम्भीर ह्रास ल्याउने जोखिम पैदा गर्दछ। यस्तो घटनाले पार्टीको छवि मात्र बिगार्दैन, नागरिकको मनोबलमा पनि नकारात्मक प्रभाव पार्दछ।
आजको समयमा, जनता राजनीतिक दलहरूको पारदर्शिता र इमानदारीको खोजीमा छन्। नेतृत्वले जनताको चासो र आवश्यकताहरूलाई ध्यानमा राखेर कार्य गर्नुपर्ने आवश्यकता छ। यदि पार्टीहरू यस्ता विवादास्पद सम्बन्धहरूबाट टाढा रहेर जिम्मेवार ढंगले काम गर्न सकेमा, जनताको विश्वास पुनः स्थापित गर्न सम्भव हुनेछ। यसैले, नेताहरूले जनताको आवाज सुन्न र उनीहरूको अपेक्षालाई ध्यानमा राख्न जरुरी छ।

एमालेले हालै आफ्नो पार्टी कार्यालयको नयाँ भवनको शिान्यास गरेको थियो । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरस्थित पार्टीको केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका थिए । पार्टीको नयाँ बन्ने कार्यालय भवन अत्याधुनिक हुने एमालेले जनाएको छ । तर, भवनको लागत र विस्तृत पक्ष तर्जुमाको क्रममा रहेको जनाईएको छ । भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा नयाँ भवन बन्न लागेको हो । कार्यालय भवन निर्माणको जिम्मेवारी पनि व्यवसायी गुरुङले लिएका छन् । उक्त स्थानमा एक वर्षभित्र भवन बनाएर अर्कोबर्ष घटस्थापनाका दिन हस्तान्तरण गर्ने गुरुङले सार्वजनिक रुपमै घोषणा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्