Logo

एमाले पार्टी कार्यालय भवन बनाउन जग्गा दान लिने निर्णयबाट ब्याक हुन अध्यक्ष ओलीमाथि दबाब



काठमाडौं, ३० असोज । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि व्यवसायी मीनबहादुर गुरूङबाट जग्गा दानमा लिएर पार्टी कार्यालय बनाउने निर्णयबाट ब्याक हुन दबाब परेको छ । मध्य दशैंको छेको पारेर अध्यक्ष ओलीले पार्टीका शीर्ष नेताहरुलाई पनि थाहै नदिई व्यवसायी गुरुङबाट जग्गा दानमा लिने र सो भवनपनि गुरुङले नै निर्माण गरेर अर्को वर्षको फूलपातीमा हस्तान्तरण गराउनेगरि शिलान्यास गरेपछि एमालेभित्रको माहोल तातिएको हो ।

खासगरी सचिवालय बैठकमा समेत कोही पनि नेतालाई गुरुङबाट जग्गा दान पाउने र उनैले भवन निर्माण गरिदिने कुरा कसैलाई पनि थाहा नभएको कुरा बाहिरिएको छ । एमालेकै जिम्मेवार नेताहरुले पार्टीको लिगेसीलाई ध्वस्त पार्ने निर्णय भएकोले तत्काल ब्याक हुन सार्वजनिक रुपमै नेतृत्वमाथि दबाब बढाएका छन् । यो विषयले राष्ट्रिय राजनीति नै तातिएको छ ।

कांग्रेसका नेताहरुले समेत व्यवसायीबाट जग्गा दान लिने र भवन बनाउने कुरा अशोभनीय भएको भनेर आलोचना सुरु गरेका छन् । स्वयम दानवीर मीनबहादुरको पनि सार्वजनिक रुपमै आलोचना भएको छ । उनीमाथि पनि यो निर्णयबाट ब्याक हुन दबाब परेको छ । गुरुङले आफू एमालेको शुभचिन्तक र एमाले समर्थक भएको नाताले जग्गा दान दिएको र भवनपनि बनाईदिन लागेको भनेर आफ्नो निर्णयको बचाउ गर्दै आएका छन् ।

प्रधानमन्त्री ओली र व्यवसायी गुरुङमध्ये एकजनाले उक्त निर्णयबाट एकजनाले ब्याक हुनेगरि समझदारी बनेको चर्चा छ । प्रधानमन्त्री ओलीले आजै साँझसम्म एउटा निश्कर्षमा पुग्नेगरि छलफल चलाएका छन् । साँढृ ५ लाख पार्टी सदस्य भएको एमालेले आँफै पार्टी कार्यालय बनाउने सार्मथ्य राख्ने एमाले नेतृ विन्दा पाण्डेको भनाई छ ।

उनले पनि नेतृत्वलाई पार्टीको शीर झुकाउने निर्णयबाट तत्कालै फिर्ता हुन आह्वान गरेकी छिन् । सुरुमा अध्यक्ष ओली पक्षधर नेताहरुले व्यवसायीबाट जग्गा दानमा लिनु र भवन बनाईनु अपराध नभएको भन्दै बचाउमा उत्रिएका थिए । तर, बिस्तारै पार्टीको समग्र जीवनमा नै क्षति पुग्ने विश्लेषणसहित अध्यक्ष ओली आफ्नो उक्त कदमबाट ब्याक हुनेगरि लचक भएका छन् ।



प्रतिक्रिया दिनुहोस्