Logo

कोजाग्रत उत्सवको पाहुर परम्परा थेग्दै महोत्तरीको ठाकुर परिवार



महोत्तरी, २ कात्तिक । जनकपुरधामस्थित जानकी मन्दिरमा हिजो बिहीबार सम्पन्न कोजाग्रत उत्सवमा रामसीताको ‘चुमाउन’ का लागि महोत्तरीको रतौली गाउँको ठाकुर परिवारले पाहुर दिने परम्परालाई निरन्तरता दिएको छ ।

कोजाग्रत पूर्णिमाका दिन मनाइने कोजाग्रत उत्सवको मैथिल परम्परामा वरवधु पूजन विधिको ‘चुमाउन’ रतौलीका महेन्द्रप्रसाद ठाकुरले बसालेको पाहुर पु¥याउने परम्परा उनका सन्तानले यो वर्ष पनि निरन्तरता दिएका हुन् । यसै परम्पराअनुसार हिजो साँझ ठाकुर परिवारबाट १०१ वटा पाहुरका भार जानकी मन्दिर पुर्‍ याइएको थियो ।

पाहुरमा रामजानकीका लागि वस्त्र,आभूषण, खाद्यान्न, विविध परिकार, पान र मखानसहितका छुट्टाछुट्टै भार (सोली, मधेसमा चङेरामा यी सामान राखिन्छन्) राखिने चलन छ । जानकी मन्दिरमा प्रत्येक असोज पूर्णिमाका दिन मनाइने कोजाग्रत उत्सवमा रामजानकीको ‘चुमाउन’ का लागि १०१ पाहुर (कोसेलीका सोली) ठाकुर परिवारले जनकपुर पु¥याएको हो । यो उत्सवमा श्रीराम र सीतालाई वस्त्रआभूषणसहित मिष्टान्न अर्पण गरिन्छ । यसलाई ‘चुमाउन’ भनिन्छ । यसै उत्सवका लागि महेन्द्रप्रसाद ठाकुरका पछिल्लो पुस्ताका नवीन ठाकुरले यसपालिको ‘चुमाउन’ सामग्रीका भार जानकी मन्दिर पुर्‍ याएको हो ।

ठाकुर परिवारले यो थिति १४१ वर्षदेखि थेग्दै आएको छ । मिथिलाको यो विशिष्ट संस्कृतिमा आफ्नो परिवारको संलग्नताको अवसरलाई ईश्वर कृपाका रुपमा नविन ठाकुर अथ्र्याउनु हुन्छ । “भगवान् श्रीराम र माता जानकीको कृपा छ, हामीले यो परम्परा बोक्न पाएका छौं” नवीन भन्छन्, “यसलाई सधैसधैं निरन्तरता दिने हाम्रो प्रयत्न रहने छ ।”

कोेजाग्रत उत्सवमा जानकी मन्दिरले सांस्कृतिक उत्सवका कार्यक्रम आयोजन गर्दै आएको छ । यस समारोहमा सीताराम सङ्कीर्तनसहित वरवधु पक्षबीच (यहाँ वरपक्ष जनकपुरधामस्थित श्रीराम मन्दिर र दुलहीपक्ष जानकी मन्दिर हुने परम्परा छ ।) दुवैपक्षबीच हुने ठट्यौलीले अघि त्रेता युगमा अयोध्याका राजा दशरथ र मिथिलाका राजा शिरध्वज जनकबीच भएका ख्यालठट्टाको झल्को दिने गरेको मिथिलाक्षेत्रका साहित्यकार राजेन्द्रप्रसाद विमल बताउँछन् ।

मिथिलामा कोजाग्रत पूर्णिमाका दिन नव वरवधुको ‘चुमाउन’ गर्ने परम्परा रामायणकालदेखिकै मानिन्छ । मिथिलाका मैथिल ब्राह्मण र कायस्थ जातिमा यो चलन आजपर्यन्त जारी छ । पछिल्लो एक वर्षमा विवाह गरेका वरलाई ‘चुमाउन’ दिन दुलहीपक्ष भार लिएर दुलाहाको घर पुग्ने गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्