Logo

रवि लामिछाने पक्राउ गर्ने विषयलाई लिएर ओली–देउवाबीच असन्तुष्टि चुलियो, सरकार छोड्ने देउवाको चेतावनी



काठमाडौं, २ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई तत्काल पक्राउ गर्न सरकारमाथि दबाब दिएका छन् । संसदीय छानबिन समितिको सिफारिशबमोजिम लामिछानेमाथि कारबाही अघि बढाउन सरकारमाथि दबाब छ । यही प्रकरणमा लामिछानेको व्यवसायिक साझेदार छविलाल जोशी पक्राउ परिसकेका छन् ।

तर, लामिछानेले भीड जम्मा पारेर सरकारमाथि नै धावा बोलेको भनेर रास्वपाको आलोचना भैरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा रहेकै बेला प्रहरीले लामिछानेलाई पक्राउको तयारी गरेको थियो । त्यतिवेलापनि रास्वपाको मुख्यालय घण्टीघरमा नेता तथा कार्यकर्ता भेला भएर सरकारविरुद्ध नाराबाजी गरेका थिए । कांग्रेस सभापति देउवाले हिजोमात्रै प्रधानमन्त्री ओलीलाई भेटेरै लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन दबाब दिएका छन् ।

तर, प्रधानमन्त्री ओलीले आनाकानी गरेको बुझिएको छ । यस्तोमा देउवाले हिजै राति १२ बजे फोन गरेर तत्काल लामिछानेमाथि पक्राउ गरेर अनुसन्धान अघि नबढाए सरकार नै ढाल्ने चेतावनी दिएको विश्वस्त स्रोतको दाबी छ । गृहमन्त्री रमेश लेखकले लामिछानेलाई पक्राउ गर्न हिजै प्रहरीको एक टोली तयारी अवस्थामा राखेको बताईन्छ ।

सम्भवतः आज साँझसम्म प्रहरीले एक्शन लिने बुझिएको छ । काँस्की जिल्ला अदालत पनि आजबाट खुलेकोले लामिछानेलाई पक्राउ गर्न सहज हुने प्रहरीको बुझाई छ । यता, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलहरुको बैठक बोलाएका छन् । जसमा रास्वपाका सभापति लामिछानेसहित सो दलका आधा दर्जन सांसद सहभागी छन् ।

बैठकमा सरकारको कामकारबाहीको आलोचना गरिएको छ । रास्वपाबाट आधा दर्जन सांसद बैठकमा सहभागी हुनुले रास्वपा नेतृत्व यतिवेला पुरै दबाबमा परेको बुझिन्छ । सभापति पक्राउ पर्ने डरले नै रास्वपाले संसद्को विशेष अधिवेशनको माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस्