Logo

धनराज गुरुङ र एमाले सांसद ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्न वर्षमान पुनको माग, रविको बचाउ



रोल्पा, ३ कात्तिक– नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले सहकारीका बचतकर्ताको रकम ठगीमा मुछिएका काँग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसदसमेत रहेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्न माग गरेका छन् ।

पार्टी सम्वद्ध पत्रकारको संस्था प्रेस सेन्टरले गृह जिल्ला रोल्पाको लिवाङमा शनिबार गरेको पत्रकार भेटघाटमा पुनले त्यस्तै आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तर, गुरुङ र पोखरेललाई नछुने गर्न नमिल्ने बताए ।

पुनले धनराज र ऋषिकेश सत्तारुढ दलका नेता भएकै कारण उन्मुक्ति दिन खोजिएको भए जनताले प्रतिवाद गर्ने चेतावनी दिए । राज्यका नियकाले गर्ने न्याय सम्पादन र अनुसन्धान सत्तापक्ष, प्रतिपक्ष वा पहुँच भएको र नभएको आधारमा नभई निष्पक्ष हुनुपर्ने उनको भनाइ थियो । ‘रवि लामिछानेलाई जस्तै आरोप काँग्रेसका उपसभापति धनराज गुरुङजी र प्रधानमन्त्रीको दलका सांसद र लेखा समितिका सभापति ऋषिकेश पोखरेलजीलाई पनि छ’, पुनले भने, ‘यसमा दोहोरो नहोस् । रवि लामिछानेमाथि जे गरिएको छ , धनराजलाई पनि त्यही होस् । प्रधानमन्त्रको पार्टीका सांसद् पोखरेलजीमाथि १८ करोड हिनामिना गरेको आरोप छ । उहाँहरु सत्तापक्षमा भएकाले छानबिन गर्नु नपर्ने, त्यस्तै आरोप लागेका रवि लामिछाने प्रतिपक्षी दलको सभापति भएकाले पक्राउ गरेर थुन्नुपर्छ भन्ने हो भने त्यो प्रतिशोध हुन्छ ।’

पुनले सहकारी ठगीमा मुछिएका अरुलाई पनि पक्राउ गरी अनुसन्धान गर्न माग गरे । ‘कोही ठूलो, कोही सानो, कोही नजिक, कोही टाढा, कोही सत्ता पक्षको, कोही प्रतिपक्षको वा कोही सर्वसाधारण भएका आधारमा राज्यले फरक व्यवहार गर्न मिल्दैन’, उनले भने, ‘जतिसुकै शक्तिशाली व्यक्ति भए पनि सार्वजनिक रुपमा उठेका प्रश्नको नेताहरुले ढिलो चाँडो दिनैपर्छ ।’ जतिसुकै बलशाली मानिस भए पनि लोकतन्त्रमा प्रश्न र कानूनभन्दा माथि कोही हुन नसक्ने उनको भनाइ थियो ।

उनले रास्वपा सभापति लामिछनेलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरे । लामिछाने सांसद हुनुअघि पक्राउ परेर थुनिएको र दल खोलेर सांसद निर्वाचित भएपछि नागरिकता प्रकरणमा अदालतले बर्खास्त गरेको भन्दै दोश्रोपटक समेत भारी मतले विजयी भएको नबिर्सन उनले भने । ‘कसैलाई आरोप लगाउँदैमा अपराधी करार गर्न पाइँदैन । उसले आफ्नो कुरा भन्न पाउँछ । अनुसन्धान र छानबिनबाट जे कुरा पुष्टि हुन्छ त्यो स्थापित हुन्छ त्यो समाजले मान्नुपर्छ । कुनै मान्छेमाथि अनुसन्धान गर्दैमा अपराधी भइहाल्ने कुनै मान्छेलाई छुनै नहुने भन्ने दुवै अतिवादी सोच हुन’, पुनले भने, रवि लामिछानेजी पहिला पनि गिरफ्तार हुनुभएको हो । त्यसपछि पार्टी खोलेर भारी मतले चुनाव जित्नुभयो । फेरि नागरिकता प्रकरणमा सांसद पद गयो । फेरि दोश्रोपटक चुनावमा जाँदा भारी मतले जित्नुभयो । जनताले उहाँलाई अनुमोदन गरेर पठाए । त्यसैले रविजीले अनुसन्धानाई सहयोग गर्नुपर्छ ।’

काँग्रेस–एमाले सम्बन्धमा दरार, सरकार लामो जाँदैन

पत्रकार भेटघाटमा उपमहासचिव पुनले प्रमुख दुई सत्ताघटक काँग्रेस र एमालेको सम्बन्धमा दरार उत्पन्न भएको बताए ।
पुनले सार्वजनिक रुपमै काँग्रेस नेताहरुले प्रधानमन्त्री केपी ओलीको कार्यशैली र सरकारको रबैयाप्रति आलोचना गर्न थालेबाट दुई दलबीचको सम्बन्धमा खटपट उत्पन्न भएको पुष्टि हुने बताए ।

काँग्रेस र एमाले मिलेपछि मुलुकमा राजनीतिक स्थिरता आउँछ भन्ने विचार राख्दै आएका काँग्रेसका शीर्ष नेता मध्येका डा. शेखर कोइरालाले दुई तिहाइको सरकारले काम गर्न नसकेको अभिव्यक्ति दिन थालेको पुनले बताए । यस्तै कोइरालालाले नै ठूला दल मिल्दा लोकतन्त्र कमजोर हुने र जनतामा निराशा चुलिए व्यवस्थामै संकट आउने हो कि भन्ने आशंका व्यक्त गरेको उनले उल्लेख गरे ।

यस्तै काँग्रेस नेताहरुले एमालेको केन्द्रीय कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले करोडौं मूल्य पर्ने १० रोपनी १४ आना जग्गा दान दिएको विषयमा सार्वजनिक रुपमै प्रश्न उठाएको बताए । ‘प्रधानमन्त्रीले नैतिक रुपमा आफ्नो दलको कार्यालय बनाउन करोडौं मूल्यको जग्गा दान लिन मिल्ने कि नमिल्ने ? त्यसबारे उहाँ र एमालेले जवाफ दिनुपर्ने कि नपर्ने ?’, पुनले भने, ‘त्यसमा स्वार्थ छ कि छैन भनेर नेपाली काँग्रेसकै नेताहरुले प्रश्न उठाइरहनुभएको छ । सामान्य जनताले र प्रतिपक्षले प्रश्न उठाउनु सामान्य हो । सत्तारुढ दलभित्रैबाट प्रश्न उठाइनुले उहाँहरुबीचको सम्बन्ध सामान्य अवस्थामा छैन भन्ने देखाउँछ ।’
पुनले प्रधानमन्त्री स्वयं र उनको दल एमालेले आफू सत्तामा बसेर अरबका अरब चन्दा लिँदा लोकतन्त्रलाई सही ठाउँमा लान्छ कि लाँदैन भन्नेबारे जवाफ दिनुपर्ने औंल्याए ।

पुनले काँग्रेस र एमालेबीचको अप्राकृतिक र रहस्यमय गठबन्धन लामो समय नजाने ठोकुवा गरे । वर्तमान सरकार अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन चुकेको भन्दै पुनले दक्षिण छिमेकी भारत र उत्तर छिमेकी चीनलाई सन्तुलनमा राख्न नसके नेपालमा स्थायित्व, विकास र स्वाधीनताको रक्षा हुन नसक्ने तर्क गरे । ‘काँग्रेस र एमालेबीचमा समस्या आइरहेको छ । यो गठबन्धन लामो समय चल्दैन भन्ने सुन्न थालिएको छ’, पुनले भने, ‘ अन्तर्राष्ट्रिय रुपमा पनि सन्तुलन गर्न सकिरहनुभएको छैन । उत्तर र दक्षिणी छिमेकीलाई सन्तुलनामा राखेर मुलुकलाई विकास र समृद्धिमा लानुपर्नेमा दुई देशसँगै नेपालको सम्बन्धमा चिसोपना आएको जस्तो देखिन्छ । हाम्रो अनुरोध के छ भने उत्तर र दक्षिण दुई छिमेकीलाई सन्तुलनमा नराखी नेपालमा विकास, स्थिरता र समृद्धि सम्भव छैन ।’

पुनले देशको विकास, समृद्धि र स्वाधीनताको रक्षाका लागि कतैतिर नढल्कीई जनतातिर ढल्कने विदेश नीति अख्तियार गरिनुपर्नेमा जोड दिए । ‘आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राख्ने विदेश नीतिका आधारमा अघि बढ्दा मात्र नेपालको स्वाधीनता बचाउन र मुलुकको विकास गर्न सकिन्छ’, उनले भने ।

जनताले काँग्रेस र माओवादी केन्द्रले सरकार र निर्वाचनमा सहकार्य गरेको विषयलाई नरुचाएका कारण आफूहरुले पछिल्लोसमय एमालेसँग सत्ता सहकार्यको हात बढाएको पुनले उल्लेख गरे । तर, सरकार सञ्चालनमा कुनै असहमति नहुँदा नहुँदै नाटकीय रुपमा काँग्रेस–एमाले मिलेको टिप्पणी उनले गरे ।

प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कदम उठाइरहेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणसँग सम्बन्धित व्यक्ति पक्राउ परेपछि एकाएक गठबन्धन बदलिएको उनले स्मरण गरे । निर्वाचन प्रणाल, संघीयता र समावेशीताका कारण अस्थिरता आएको र त्यसका लागि संविधान संशोधन गर्ने बहाना बनाएर संसदका दुई ठूला दल मिलेको भए पनि पछिल्लो समय काँग्रेस र एमालेका शीर्ष नेताकै मुखबाट ती विषयमा परिवर्तन हुन नसक्ने अभिव्यक्ति आउनुले संविधान संशोधन उनीहरुको एजेण्डा नभएको स्पष्ट हुने चर्चा पुनले गरे ।

‘समावेशी र समानुपातिक निर्वाचन प्रणालीका कारण अस्थिरता भयो बदल्छौं भन्ने कुरा आयो । ठूलो दलका सभापति शेरबहादुर देउवाले समावेशी समानुपातिक प्रणाली कुनै हालतमा फेरिँदैन भन्न थाल्नुभएको छ । सरकारका प्रवक्ताले समावेशी र समानुपातिक निर्वाचन प्रणालीबाट पछि हट्नेबारे कुरै हुँदैन भन्नुहुन्छ’, पुनले भने, ‘यही कुराले पुष्टि गर्छ कि संविधान संशोधन बहाना मात्र थियो । सरकार बनेको तीन महिनासम्म संविधान संशोधनबारे कुनै बहस छैन, कुनै तयारी छैन ।’

उनले दुई तिहाइको सरकारबाट अहिलेसम्म आशा जगाउने एउटै मात्र काम भएको सुन्न नपाइएको उल्लेख गरे । सरकारले जनअपेक्षा अनुसार सुशासन, समृद्धि, सामाजिक न्याय र समग्र राष्ट्रिय एकताको भावका साथ काम गरे आफूहरु प्रतिपक्षमै बसेर निसर्त सहयोग गर्न तयार रहेको पुनको प्रतिबद्धता थियो । तर, जनताको भावनाविपरीत र स्वार्थ समूहको चाहनामा सरकार अघि बढे खबरदारी गर्ने उनको भनाइ थियो । file photo



प्रतिक्रिया दिनुहोस्