रोल्पा, ३ कार्तिक । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अहिलेको सरकार लामो नजाने दाबी गरेका छन् । कांग्रेस र एमालेबीच समस्या सुरु भैसकेकोले सरकार लामो नजाने उनको दाबी छ । गृहजिल्ला रोल्पामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पुनले यस्तो दाबी गरेका हुन् । पुनले प्रमुख दुई सत्ताघटक काँग्रेस र एमालेको सम्बन्धमा दरार उत्पन्न भएको बताए ।
पुनले सार्वजनिक रुपमै काँग्रेस नेताहरुले प्रधानमन्त्री केपी ओलीको कार्यशैली र सरकारको रबैयाप्रति आलोचना गर्न थालेबाट दुई दलबीचको सम्बन्धमा खटपट उत्पन्न भएको पुष्टि हुने बताए ।
काँग्रेस र एमाले मिलेपछि मुलुकमा राजनीतिक स्थिरता आउँछ भन्ने विचार राख्दै आएका काँग्रेसका शीर्ष नेता मध्येका डा. शेखर कोइरालाले दुई तिहाइको सरकारले काम गर्न नसकेको अभिव्यक्ति दिन थालेको पुनले बताए । यस्तै कोइरालालाले नै ठूला दल मिल्दा लोकतन्त्र कमजोर हुने र जनतामा निराशा चुलिए व्यवस्थामै संकट आउने हो कि भन्ने आशंका व्यक्त गरेको उनले उल्लेख गरे ।
यस्तै काँग्रेस नेताहरुले एमालेको केन्द्रीय कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले करोडौं मूल्य पर्ने १० रोपनी १४ आना जग्गा दान दिएको विषयमा सार्वजनिक रुपमै प्रश्न उठाएको बताए । ‘प्रधानमन्त्रीले नैतिक रुपमा आफ्नो दलको कार्यालय बनाउन करोडौं मूल्यको जग्गा दान लिन मिल्ने कि नमिल्ने ? त्यसबारे उहाँ र एमालेले जवाफ दिनुपर्ने कि नपर्ने ?’, पुनले भने, ‘त्यसमा स्वार्थ छ कि छैन भनेर नेपाली काँग्रेसकै नेताहरुले प्रश्न उठाइरहनुभएको छ । सामान्य जनताले र प्रतिपक्षले प्रश्न उठाउनु सामान्य हो । सत्तारुढ दलभित्रैबाट प्रश्न उठाइनुले उहाँहरुबीचको सम्बन्ध सामान्य अवस्थामा छैन भन्ने देखाउँछ ।’
पुनले प्रधानमन्त्री स्वयं र उनको दल एमालेले आफू सत्तामा बसेर अरबका अरब चन्दा लिँदा लोकतन्त्रलाई सही ठाउँमा लान्छ कि लाँदैन भन्नेबारे जवाफ दिनुपर्ने औंल्याए ।
पुनले काँग्रेस र एमालेबीचको अप्राकृतिक र रहस्यमय गठबन्धन लामो समय नजाने ठोकुवा गरे । वर्तमान सरकार अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन चुकेको भन्दै पुनले दक्षिण छिमेकी भारत र उत्तर छिमेकी चीनलाई सन्तुलनमा राख्न नसके नेपालमा स्थायित्व, विकास र स्वाधीनताको रक्षा हुन नसक्ने तर्क गरे ।
‘काँग्रेस र एमालेबीचमा समस्या आइरहेको छ । यो गठबन्धन लामो समय चल्दैन भन्ने सुन्न थालिएको छ’, पुनले भने, ‘ अन्तर्राष्ट्रिय रुपमा पनि सन्तुलन गर्न सकिरहनुभएको छैन । उत्तर र दक्षिणी छिमेकीलाई सन्तुलनामा राखेर मुलुकलाई विकास र समृद्धिमा लानुपर्नेमा दुई देशसँगै नेपालको सम्बन्धमा चिसोपना आएको जस्तो देखिन्छ । हाम्रो अनुरोध के छ भने उत्तर र दक्षिण दुई छिमेकीलाई सन्तुलनमा नराखी नेपालमा विकास, स्थिरता र समृद्धि सम्भव छैन ।’
पुनले देशको विकास, समृद्धि र स्वाधीनताको रक्षाका लागि कतैतिर नढल्कीई जनतातिर ढल्कने विदेश नीति अख्तियार गरिनुपर्नेमा जोड दिए । ‘आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राख्ने विदेश नीतिका आधारमा अघि बढ्दा मात्र नेपालको स्वाधीनता बचाउन र मुलुकको विकास गर्न सकिन्छ’, उनले भने ।
जनताले काँग्रेस र माओवादी केन्द्रले सरकार र निर्वाचनमा सहकार्य गरेको विषयलाई नरुचाएका कारण आफूहरुले पछिल्लोसमय एमालेसँग सत्ता सहकार्यको हात बढाएको पुनले उल्लेख गरे । तर, सरकार सञ्चालनमा कुनै असहमति नहुँदा नहुँदै नाटकीय रुपमा काँग्रेस–एमाले मिलेको टिप्पणी उनले गरे ।
प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कदम उठाइरहेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणसँग सम्बन्धित व्यक्ति पक्राउ परेपछि एकाएक गठबन्धन बदलिएको उनले स्मरण गरे । निर्वाचन प्रणाल, संघीयता र समावेशीताका कारण अस्थिरता आएको र त्यसका लागि संविधान संशोधन गर्ने बहाना बनाएर संसदका दुई ठूला दल मिलेको भए पनि पछिल्लो समय काँग्रेस र एमालेका शीर्ष नेताकै मुखबाट ती विषयमा परिवर्तन हुन नसक्ने अभिव्यक्ति आउनुले संविधान संशोधन उनीहरुको एजेण्डा नभएको स्पष्ट हुने चर्चा पुनले गरे ।
‘समावेशी र समानुपातिक निर्वाचन प्रणालीका कारण अस्थिरता भयो बदल्छौं भन्ने कुरा आयो । ठूलो दलका सभापति शेरबहादुर देउवाले समावेशी समानुपातिक प्रणाली कुनै हालतमा फेरिँदैन भन्न थाल्नुभएको छ । सरकारका प्रवक्ताले समावेशी र समानुपातिक निर्वाचन प्रणालीबाट पछि हट्नेबारे कुरै हुँदैन भन्नुहुन्छ’, पुनले भने, ‘यही कुराले पुष्टि गर्छ कि संविधान संशोधन बहाना मात्र थियो । सरकार बनेको तीन महिनासम्म संविधान संशोधनबारे कुनै बहस छैन, कुनै तयारी छैन ।’
उनले दुई तिहाइको सरकारबाट अहिलेसम्म आशा जगाउने एउटै मात्र काम भएको सुन्न नपाइएको उल्लेख गरे । सरकारले जनअपेक्षा अनुसार सुशासन, समृद्धि, सामाजिक न्याय र समग्र राष्ट्रिय एकताको भावका साथ काम गरे आफूहरु प्रतिपक्षमै बसेर निसर्त सहयोग गर्न तयार रहेको पुनको प्रतिबद्धता थियो । तर, जनताको भावनाविपरीत र स्वार्थ समूहको चाहनामा सरकार अघि बढे खबरदारी गर्ने उनको भनाइ थियो ।