Logo

म्याद थपिनुअघि रवि लामिछानेको उद्घोष : सबैभन्दा भ्रष्टाचारको जगमा उभिएको मान्छे नै केपी ओली हो



काठमाडौं, ४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबैभन्दा भ्रष्टाचारीको संज्ञा दिएका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेर म्याद थपको लागि जिल्ला अदालत कास्की लगिने क्रममा मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले आफूलाई जस्तै डेढ वर्ष समय लगाएर छानबिन गर्ने हो भने सबैभन्दा बढि भ्रष्टाचारको जगमा उभिएको मान्छे नै केपी ओली हुने दाबी गरे । उनले केपी ओली देशको प्रधानमन्त्री भएकोलाई दुर्भाग्य नै भनेका छन् ।

लामिछानेले आफूलाई अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् । उनले आफूलाई न्यायालयप्रति पूरा विश्वास रहेको बताएका हुन् । उनले आफू अनुसन्धानलाई सघाउनको लागि नै आएको बताए ।

उनको संक्षिप्त प्रतिक्रिया थियो,‘‘मलाई अदालतले न्याय दिनेमा निर्धक्क छु । तर, यो सरकारको विरुद्ध देशभरिबाट उत्रिनको लागि सबैमा आह्वान गर्दछु । मेरो लागि होईन । तर, केपी ओलीको सरकार रहिरहने हो भने यो देशले धेरै दुःख पाउँछ । त्यसकारण यो अधिनायवादी सरकारको विरुद्ध चाहीँ यही बेलामा देशैभरिबाट जो जो जहाँ जहाँ हुनुहुन्छ, मेरो लागि होईन, देशको लागि बाहिर निस्किनुपर्ने बेला आउनसक्छ ।’

अहिलेको सरकार रहुञ्जेलसम्म यस्तै हर्कत गरिरहने उनको टिप्पणी छ । उनले भने,‘झुठा मुद्दामा मान्छेलाई फसाउने काम भैरहन्छ । केपी ओलीको शासन सत्ता रहेसम्म यस्ता अपराध भैरहन्छन् ।” उनले भ्रष्टाचारीलाई पालेर र भ्रष्टाचारको जगमा उभिएर अरुलाई सहकारी ठग भनेर झुटो मुद्दा लगाउने भन्दै आक्रोश पोखे । file photo



प्रतिक्रिया दिनुहोस्