Logo

आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै विपक्षी दल



काठमाडौं, कार्तिक ५ । विपक्षी दलहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएका छन्। बाढीपहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराएर अल्पकालीन र दीर्घकालीन योजनासहित पुनस्र्थापना र पुनर्निर्माणमा लाग्न सरकारसँग माग गर्दै प्रमुख प्रतिपक्ष दल माओवादी, प्रतिपक्ष दलहरू रास्वपा, एकीकृत समाजवादीलगायतका दलहरूले ज्ञापनपत्र बुझाउन लागेका हुन् ।

माओवादी उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाल सम्मिलित कार्यदलले ज्ञापनपत्रको मस्यौदा टुंग्याएको छ । विज्ञले वेलैमा सचेत गराउँदा पनि सरकारको लापरबाहीले जनधनको ठुलो क्षति भएको निष्कर्षसहित विपक्षी दलहरूले पीडितलाई तत्काल राहत उपलब्ध गराउन ज्ञापनपत्र बुझाउन लागेको जनाएका छन् ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउने विपक्षी दलहरूको तयारी छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा गत शुक्रबार बसेको विपक्षी दलहरूको बैठकले सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्