Logo

ओली सरकार सबै मोर्चामा असफल भयो, यसले दलाल र भ्रष्टाचारीको संरक्षण गरेको छ : माधव सापकोटा



आफू र एमालेमाथि हमला भएपछि प्रधानमन्त्रीले विषयान्तर गर्न हतारिएर रविजीलाई पक्राउ गर्नुभयो’
काठमाडौं, ६ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रभवशाली नेता तथा सांसद माधव सापकोटाले वर्तमान सरकार सबै मोर्चामा असफल भएको दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दलाल, विचौलियो र भ्रष्टाचारीहरुको संरक्षण गरेको उनको आरोप छ ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले ओली सरकारलाई इतिहासकै सबैभन्दा आलोचित, विवादित र भ्रष्मासुरको संज्ञा दिए । उनले भने,‘यो सरकारले आफ्नो हनिमुनको पिरियड पूरा गर्दैछ । नेपालमा अहिले मीन दाई उभिएपछि भन्नुहुन्छ, प्रतिपक्षीको धर्म भनेको आलोचना र विरोधमात्रै गर्ने हो, सत्तापक्षले आफ्नो बचाउ गर्ने भन्नुहुन्छ । उहाँ अहिले मपछि बोल्नुहुन्छ । यति धेरै विवादित, यति धेरै आलोचित र यति धेरै भस्मासुर सरकार चाहीँ यो पहिलोपटक हो नेपालमा ।’

एमालेकै पोलिटब्यूरो सदस्य विन्दा पाण्डेलगायतले किर्तीपुरमा बन्न लागेको नयाँ नामाकरण गरिएको ‘मीनभवन’ बारे बोल्दा स्पष्टीकरण सोधिएको भन्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको आलोचना गरे । ‘लोक पुरै बाढी, पहिरोबाट आहात भैरहेको बेलामा, प्रधानमन्त्री अमेरिका भ्रमणमा हुनुहुन्थ्यो, उहाँ भ्रमण छोट्याएर आउनुको साटो कन्सुलर उद्घाटन गर्दै बस्नुभयो ।’,उनले थपे–‘सरकार कस्तो लयमा हिँडिरहेको छ भन्ने कुरा हो । हामीले गरेको आलोचनामात्रै आलोचनामात्रै होईन । प्रचण्डले अघिल्लोपटक सरकारको नेतृत्व गर्दा जाजरकोट, रुकुममा भुकम्प जाँदा निन्द्रा नखुल्दै उहाँले राज्यको संयन्त्रलाई घट्स्थानस्थलमा लिएर उद्धार, राहत र व्यवस्थापनको काम गर्नुभएको हो । सरकारले ठीक ढंगले पहलकदमी लियो भनेर जनस्तरबाट प्रशंसा भयो । अहिले बाढी, पहिरोबाट जनता विपत्तिमा हुँदा उहाँ अमेरिकामा हुनुहुन्थ्यो, यता नेपालमा क्याविनेट राख्नसमेत दिनुभएन । बरु, प्रचण्ड नै पीडितसमक्ष पुग्नुभयो । पीडितलाई ढाडस दिनुभयो । उहाँ नै पहिले पुग्नुभएको हो । उहाँ पुगेको १८ दिनपछि गृहमन्त्री, रक्षामन्त्रीको फौज बल्ल हिँड्न थालेको हो ।’

नेता सापकोटाले कांग्रेस र एमालेबीचको सहकार्यबारे टिप्पणी गर्दै एक सय दिन नपुग्दै भर्खरै भूकम्पजस्तै हल्लिएको दाबी गरे । उनले भने,‘यो सरकार गठन भएको एक सय दिन नपुग्दै सरकार भूकम्प आएकोजति हल्लिएको थियो । आफ्नै धरातल र जग बलियो नभएपछि हल्लिएको हो । यो सरकारको स्थिति जग बलियो छैन् । राजनीतिक सहमतिको आधारमा बनेको सरकार होईन । यो विचौलियाले आफ्नो स्वार्थ सिद्ध गर्नको लागि बनाईदिएको सरकार हो । भ्रष्ट र दलालहरुले आफ्नो एकपछि अर्को फाईल खुल्दै जाने र स्वार्थमा धक्का लाग्ने भएपछि अमुक दलालहरुको घरमा रातको १२ बजे अरू कसैले आफ्नो स्वार्थको लागि बनाएको सरकार हो । यदि यो उहाँहरुले भनेकैजस्तै गुड फेथमा राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र संविधान संशोधनको पवित्र भावनाले सोचेको हो भने कुनै एउटा राजनीतिक दलको कार्यालयमा लोकलाई राम्रोसँग बुझाएर पारदर्शी रुपमा सरकार बन्दथ्यो । अहिले त हाम्रो आरोप एकपछि अर्को प्रमाणित भैरहेका छन् ।’

उनले एमालेले व्यवसायी मीनबहादुर गुरुङको दानबाट पार्टी कार्यालयको लागि जग्गा दान लिने भनेर गरेको निर्णयको पनि आलोचना गरे । उनले भने,‘जहाँसम्म मीनभवनको कुरा छ, यो एमालेको मात्रै सवाल रहेन । उपहार लिनेबारे कानून पनि छ । ट्रान्सपरेन्सी ईन्टरनेश्नलले त यसलाई भ्रष्टाचार ठहर गरेको छ । तर, एमालेले गिफ्टमात्रै हो भनेको छ । एमालेलाई धेरै चिन्ता छैन् । तर, देशको लागि राजनीति गर्ने हामीहरुलाई यसबारे चिन्ता छ ।’

उनले कांग्रेसकै असहमतिको कारण प्रधानमन्त्री ओली राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनबाट रोकिएको दाबी गरे । ‘प्रधानमन्त्रीले हिजो साँझ ५ बजेको लागि क्याविनेट बोलाउनुभएको थियो । अध्यादेश ल्याउने कुरा भएको थियो ।’,उनले अघि भने,‘तर कांग्रेसले अस्विकार गरेपछि त्यो रोकिएको हो । सरकार अध्यादेशकै बाटोमा गएकै हो ।’

सापकोटाले प्रधानमन्त्री ओली अहिले देश, दुनियाँ र जगततर्फ नभएको आरोप लगाए । उनले भने,‘उहाँ अघिल्लोपटक प्रधानमन्त्री हुँदा संसद् विघटन, अटोक्रेसी लाद्ने र संविधान मास्ने जुन मुडमा हुनुहुन्थ्यो, अहिले ठ्याक्कै त्यहाँ आईपुग्नुभएको छ । साना पार्टीलाई मास्ने, टुक्र्याउने, तिनलाई ल्याएर आफ्नो दलमा राख्ने र ठूलो पार्टी भएर अघि बढ्ने उहाँको सोच हो । उस्तै परे अदालतबाट नयाँ प्रकारको ब्याख्या र फैसला आयो भनेपनि आफ्नै नेतृत्वमा सरकार रहिरहोस भन्ने मुख्य अभिप्रायमा उहाँ हुनुहुन्छ ।’

उनले अहिलेको सरकार बनेको दिनदेखिनै सबै क्षेत्रबाट आलोचना सुरू भएको स्मरण गराए । उनले थपे,‘जुनदेखि यो सरकार बन्यो, सबै क्षेत्रबाट आलोचना भएको छ । सरकारबाट विवादास्पद कार्य भएका छन्, नेपाल विद्युत प्राधिकरणतर्फ यो सरकार झम्टियो । कुलमान घिसिङ्लाई बर्खास्त गर्न खोजिएको थियो । उहाँले कुमालनलाई स्पष्टीकरण सोध्नुभएको छ । बरु, त्यसबेला उहाँले के काम गर्नुपर्दथयो भने नक्कली भुटानी शरणार्थी प्रकरणको इन्जिनियरिङ गर्ने बेचन झा, उहाँले इन्कारी बयान गर्नुभयो । बेचन झालाई राम्रोसँग केरकार गरेर, बयान लिएर अरु अभियुक्तलाई कोही हिरासत र पुर्पक्षमा जानुपर्ने स्थिति हो । त्यसबारे कदम चाल्नुपर्दथ्यो । तर, त्यसलाई ढिसमिस गरियो । यो सरकार दललाहरुले खडा गरेको बुख्याँचा सरकार हो । हामीले प्रतिवाद गर्छौं भनेका थियौं । घट्नाक्रमले त्यो सिद्ध गरेन र ?’

उनले प्राकृतिक विपद्को सामना गर्न प्रधानमन्त्रीले अहिलेसम्म सबै दललाई एकतावद्ध गर्न नसकेको आरोप लगाए । उनले भने,‘यो विपत्तिको क्षति भुकम्पजस्तै हो । घरघरमा भकारीको धान सकिँदैछ । किसानको धानखेत बगरमा परिणत भएको छ । मेरै निर्वाचन क्षेत्रको कुरा गर्दा तातोपानीमा मालवाहक गाडी ल्याउन सकिएको छैन् । अहिले सरकारका मन्त्रीहरुले हामीले बनाएको अस्थायी पुल उद्घाटन गर्नुभएको छ ।’

सांसद सापकोटाले अहिलेको सरकार जुन अभिप्रायको लागि जन्मिएको हो त्यसमा भने सफल रहेको टिप्पणी गरे । उनले भने,‘सरकार जुन अभिप्रायले बनेको हो, त्यो काम चाहीँ उसले गरिरहेको छ । भ्रष्टाचारीको संरक्षक गर्ने भनेको हो, दलाल र विचौलियाहरुको सेवा गर्ने भनेको हो । त्यो काम गरिरहेको छ । जनता विपत्त र आपत्तमा छन् । सरकारले साझा संकल्प ल्याएन । यो सरकार जनताको कामबाट च्यूत छ । कसरी अटोक्रेसी लाद्ने भनेर सरकार र प्रधानमन्त्री त्यसमा केन्द्रित छन् ।’

उनले नेपाली कांग्रेसका नेतालाई राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन नदिने आफ्नो अडानमा अडिग रहन आग्रह गरेका छन् । उनले भने,‘अध्यादेश ल्याउने र अर्काको पार्टी फुटाउने खेलोमेलोमा जाने हो भने कांग्रेसपनि केपी ओलीसँगै सति जाने हो । त्यतिवेला जनताले रामराम मात्रै भन्ने हो ।’ उनले केपी ओलीले एमालेभित्रै पनि पार्टी कार्यालय भवन बनाउने विषयमा आफ्नो कुरा राख्नेहरुमाथि दमन गरेको बताए ।

उनले किर्तीपुरमा बन्न लागेको एमाले मुख्यालय मीनभवनको कारण प्रधानमन्त्री ओली र उनको पार्टीमाथि हमला भएपछि त्यसको विषयान्तर गर्नको लागि हतारिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको आरोप लगाए ।

उनले भने,‘रविजीलाई मात्रै पक्राउ गर्नतर्फ किन गयो त? कांग्रेसका उपसभापति धनराज गुरुङ र एमाले नेता ऋषिकेश पोखरेलको नाम मिडियामा दिनकै आउँछ । उहाँहरुको त रविजीको भन्दापनि बढि छ्याङ्छ्याङ्ती देखिनेगरि प्रमाण आयो । धनराजले त अहिलेका दानवीर मीनवहादुरसँगै सापटी लिएर तिरेको बयान दिइसक्नुभयो । साबिती बयान दिनुभयो । यसले के देखाउँछ भने आफ्नाहरु जतिलाई जोगाउने र संरक्षण गर्ने, आफूलाई पालनपोषण गर्ने, चन्दा दिने, दान–भेटी दिनेहरुको संरक्षण गर्ने, आफ्नो विरुद्धमा जानेहरुलाई समातेर थुन्ने निरंकुशतातर्फ जान खोजेको आशंका छ । सरकारको एक सय दिनको समिक्षा गर्दा सम्पूर्ण रुपमा असफल भएको छ । यो सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको छ । सरकारले लय बिगारेको छ ।’ यद्धपी उनले तत्काल आफ्नो दल अहिलेको सरकार फेर्ने, बदल्ने वा सरकारमा जाने हतारोमा नभएको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्