Logo

युक्रेनी विदेशमन्त्री युद्ध अन्त्य गर्ने योजनामा समर्थन जुटाउन अफ्रिका र ओमानको भ्रमणमा



युक्रेन, ७ कात्तिक । युक्रेनी विदेश मन्त्री एन्ड्री सिबिगाले युक्रेन र रूसको बीचको युद्ध अन्त्य गर्ने योजनामा समर्थन जुटाउन बुधबार अफ्रिकी देशहरू र ओमानको भ्रमण सुरु गरेका छन् ।

युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीले युद्व अन्त्यको विजय योजना सार्वजनिक गरेसँगै नेटोको तत्काल सदस्यताका लागि आह्वान गरेपछि ओमान, एङ्गोला, इजिप्ट र दक्षिण अफ्रिकाको भ्रमण अभियान सुरु भएको हो ।

बुधबारदेखि आगामी सोमबार सम्मलाई तय भएको सिबिगाको भ्रमणले “शान्ति सूत्रलाई बढावा दिने, राजनीतिक संवादको विकास गर्ने, युक्रेनका लागि मानवीय तथा ऊर्जा सहयोगलाई सुदृढ पार्ने, व्यापार र आर्थिक सहयोगको विकास गर्ने विदेश मन्त्रालयले जनाएको छ ।

गत जुनमा, लगभग ८० वटा देशले जेलेन्स्कीको प्रस्तावीत दश सूत्रीय “शान्ति सूत्र” लाई समर्थन गरेका थिए । जसमा युक्रेनी क्षेत्रीय अखण्डतालाई सम्मान गर्दै रूसी सेनालाई युक्रेन छोड्न आह्वान गरिएको थियो । युक्रेनले यस एजेन्डालाई समर्थन गर्न थप देशहरूलाई आग्रह गर्दै आएको छ ।

सन् २०२२ फेब्रुअरीमा रूसले युक्रेनमा आक्रमण गरेदेखि, किभले अफ्रिका र एसियामा मस्कोका परम्परागत सहयोगीहरूसँग कूटनीतिक सम्बन्ध बढाइरहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्