Logo

विपक्षी दलका नेताहरुसँग राष्ट्रपति पौडेलले भने : तपाईंहरुलाई मेरो सिमा थाहा छँदैछ, अध्यादेश आयो भने छलफलमा बोलाउँछु



काठमाडौं, ७ कार्तिक । संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलका नेताहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याईए रोक्नको लागि अनुरोध गरेका छन् । शितलनिवासमा आज अपरान्ह भएको भेटमा विपक्षी दलका प्रायः सबै नेताहरुले अध्यादेश ल्याएर सरकार अधिनायकवादी बाटोमा जान खोजेको भन्दै राष्ट्रपतिको ध्यानाकार्षण गराएका थिए ।

भेटवार्तामा सहभागी आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष तिलक थापामगरले सरकारले अध्यादेश ल्याउने तयारी गरेको विषयमा राष्ट्रपतिलाई जानकारी गराईएको बताए । रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा थापा मगरले भने,‘आजको भेटमा मुख्यगरि दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सरकारको तयारीको विषयमा कुरा भयो । पाँचै वटा दलका नेताहरुले ल्याउन दिनु हुन्न । ल्याईयो भने लोकतन्त्र कमजोर हुन्छ भनियो । राष्ट्रपतिलाई तपाईं लोकतन्त्रको लागि लडेको मान्छे । केपी ओलीको विगतको कार्यशैली हेर्दा अधिनायकवादी लाद्ने खालको छ, नेकपाकालमा संसद् विघटन गरेकै हो, त्यो नजिर छ । विगतमा विद्या भण्डारी राष्ट्रपति हुँदा केपी ओलीको रबरस्ट्याम्प बन्नुभयो । अब तपाईं त्यस्तो नबन्नुहोस भनेर हामीले भन्यौं ।’

जनता अविरल वर्षाको कारण आएको बाढि तथा पहिरोबाट पीडित बनेको अवस्थामा सरकारले राहत दिने कुरामा ध्यान निदएको विषयपनि राष्ट्रपतिसमक्ष राखिएको उनले जनाए । यस्तै, व्यवसायी मीनबहादुर गुरुङबाट दानमा जग्गा लिएर पार्टी कार्यालय बनाउने एमालेको कदमको विषयमा पनि कुरा राखिएको उनको भनाई छ ।

उनले भने,‘व्यवसायीले सरकारको नेतृत्व गरेको दलको कार्यालय भवनको लागि जग्गा दिनु भ्रष्टाचार नै हो । यो विषय प्रचण्डले उठाउनुभयो ।’ भेटवार्तामा रास्वपाका सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोध साँधेर पक्राउ गरेको विषय रास्वपाकी सांसद सुमना श्रेष्ठले राखेकी थिईन् । अरु नेताले पनि रविको पक्राउलाई लिएर सरकारले विभेदपूर्ण व्यवहार गरेको भनेर कुरा राखेको उनले जनाए । सहकारी ठगी प्रकरणमा देखिएका अरुलाई पनि पक्राउ गरेर अनुसन्धान गरिनुपर्ने कुरा सबै नेताले राखेका थिए ।

जवाफमा राष्ट्रपति पौडेलले अध्यादेश आयो भने आफूले ऐन, कानून हेरेर निर्णय लिने कुरा गरेको थापा मगरले जनाए । राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै थापाले भने,‘अध्यादेश आयो भने म विचार गर्छु । एने, कानूनले के भन्छ त्यहीअनुसार गर्छु । मेरो सिमा तपाईंहरुलाई थाहा छ । अध्यादेश आयो भने म तपाईंहरु पाँच दलका नेताहरुलाई बोलाएर छलफल गर्छु ।’



प्रतिक्रिया दिनुहोस्