Logo

नेरुडे मिर्मिरेमा कर्मचारी आन्दोलन उत्कर्षमा, बोहोरा सञ्चालक/अध्यक्षबाट लज्जास्पद रूपमा बाहिरिए



काठमाडौं, ८ कार्तिक । नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जर भएर बनेको नेरुडे मिर्मिरे लघुवित्तमा कर्मचारी आन्दोलन उत्कर्षमा पुगेको छ । सहमति कार्यान्वयनमा सञ्चालक समिति र व्यवस्थापनले बेवास्ता गरेको भन्दै कर्मचारीहरु आन्दोलित रहेकोमा अहिले आन्दोलन उत्कर्षमा पुगेको छ ।

साविक नेरुड लघुवित्तका कर्मचारीहरुले मर्जरकै समयमा चार ग्रेडको माग राखी आन्दोलन भएको र तत्कालिन सञ्चालक समिति र युनियनबीच वार्ता भई चार ग्रेड दिने र दुई/दुई वर्षमा तलव/भत्ता बढाउने सम्झौता भएको भएपनि मर्जरपश्चात् दुई ग्रेडमात्रै दिईएकाले बाँकी दुई ग्रेडको लागि विधिवत् रुपमा कर्मचारीहरुले आन्दोलन सुरु गरेका हुन् ।

तर, साविक मिर्मिरेमा संस्थागत सुशासन पालना नगरेको कारण नेपाल राष्ट्र बैंकबाट ५ लाख जरिवाना र पाँच वर्षसम्म बैंक तथा वित्तिय संस्थामा सञ्चालक बन्न नपाउनेगरि कारबाहीमा परी अध्यक्षबाट बर्खास्त भएका टेकबहादुर बोहोरा उच्च अदालत गएकोमा सम्मानित अदालतले संक्षिप्त फैसला आएको र फैसलाको पूर्णपाठ नआउँदै नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्ष बन्नको लागि साविक मिर्मिरे लघुवित्तका कर्मचारीलाई झुटो आश्वासन दिएर दुई सय जना केन्द्र व्यवस्थापकहरुलाई एक तह बढुवा गराईदिन्छु भनि आन्दोलन गर्न लगाई शाखाहरु ठप्प पारेको, केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको, मानव संशोधन विभाग प्रमुख (एचआर प्रमुख) लाई कर्मचारीबाट हातपात गर्नसमेत प्रयास भएको, सामाजिक सञ्जालमा उच्च व्यवस्थापक र कर्मचारीलाई गालीगलौज गरी अराजक गतिविधि गरी कर्मचारीकै आन्दोलनको बलमा गलत बाटोबाट अध्यक्ष बन्न सफल भएको र अध्यक्ष बन्नासाथ नेरुडेतर्फका कर्मचारीप्रति सिईओलाई दबाब दिई सरुवा गरेर प्रतिशोधपूर्ण व्यवहार देखाएका थिए । अध्यक्ष बनेकै दिन उनीद्धारा परिचालित साविक मिर्मिरेतर्फका कर्मचारीले आन्दोलन स्थगन गरेका थिए ।

तर, अहिले नेपाल राष्ट्र बैंक बोहोराको विरुद्धमा सर्वोच्च अदालत पूनरावदेलनमा गएको छ । गलत बाटोबाट अध्यक्षमा नियुक्त हुन सफल भएपनि नेपाल राष्ट्र बैंक निज बोहोराविरुद्ध सर्वोच्च अदालत गएपछि र उनलाई शपथ नगराएपछि लज्जास्पद रूपमा सञ्चालक र अध्यक्ष पद छोड्न बाध्य भएका छन् । अध्यक्ष बन्नको लागि बोहोराले कर्मचारीलाई अनावश्यक रूपमा उचालेको र झुटा आश्वासन दिएको भएपनि उनीहरुको माग पनि पूरा गर्न भने नसकेको उनकै उक्साहटमा आन्दोलनमा उत्रिएका एक कर्मचारीले आक्रोश पोखे । साविक मिर्मिरेका कर्मचारीले माग पूरा नभएको महशुस गरेपछि सो संगठनमा यतिवेला खटपट सुरु भएको छ । ती कर्मचारीले भने,‘उहाँले हामीलाई अनावश्यक दुरुपायेग र प्रयोग गर्नुभयो, उहाँले हामीलाई देखाएर व्यक्तिगत लाभमात्रै लिनुभयो, हामीलाई आन्दोलनमा उतारेर उहाँ आफू अध्यक्ष बन्न सफल हुनुभयो, तर हाम्रो माग पूरा गर्नतर्फ गम्भीर हुनुभएन ।’ बोहोरा बाहिरिएपछि सञ्चालक समितिको अध्यक्षमा साविक नेरुडेतर्फका सञ्चालक मणिकुमार अर्याल अध्यक्षमा नियुक्त भएर कार्यभार सम्हालिसकेका छन्।

अर्कोतर्फ साविक नेरुडेतर्फका कर्मचारीलाई चार ग्रेड दिने सम्झौता गर्दाको समयका तीन जना सञ्चालक समिति सदस्यहरु मर्जरपछिको नेरुडे मिर्मिरे लघुवित्तको सञ्चालक समितिको बोर्डमा छन् । कुल पाँच जनाको सञ्चालक समितिमा नेरुडेतर्फका तीन जना सदस्यहरु छन् । जुन बोर्ड सदस्यहरुको बहुमत हो । उनीहरुलाई संस्थागत निर्णय लिन सहज छ ।

चार ग्रेड दिने सम्झौतामा हस्ताक्षर गर्दाका साविक नेरुडेतर्फका कार्यकारी प्रमुख भोजराज बश्याल हाल मर्जरपछिको संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिईओ) को भूमिकामा छन् । उनले सम्झौता गर्दाताका चार ग्रेड दिने कुरा दावाका साथ बोलेको र सो सहमति पालना गर्न नसके ‘कोशीमा डुबेर मर्छु’ भनेर गरेको उद्घोष अहिलेपनि चर्चामा छ ।

आफूहरुको मागलाई पूरा गराउनको लागि साविक नेरुडेतर्फका कर्मचारीले यतवेला आन्दोलन उत्कर्षमा पुर्याएका छन् । आन्दोलनरत कर्मचारीले नेपाल राष्ट्र बैंकलाई जानकारी गराउँदै सहमति कार्यान्वयनको लागि श्रम कार्यालयमा मुद्दासमेत दायर गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्