Logo

विद्युतको बक्यौता उठाउन धेरै प्रयास गर्यौं, बाध्य भएर लाईन काटेका हौं : कुलमान घिसिङ (भिडिओसहित)



काठमाडौं, ९ कार्तिक । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले तीन महिनासम्म पनि विद्युतको बक्यौता नतिरेपछि र माथिल्लो निकायबाट लिखित निर्देशनपनि नआएपछि आफूहरुले बक्यौता नतिर्ने उद्योगको लाईन काटेको स्पष्ट पारेका छन्।

आज विहान नेपाली रेडियो नेटवर्कको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा घिसिङले भने,‘हामीलाई लिखितमा कतैबाट निर्देशन आएको छैन् । प्रधानमन्त्रीज्यूले पनि निर्देशन दिनुभएको छैन् ।’ विद्युतको महशुस उठाउनुपर्छ भनेर सबैले भनिराखेको उनले सुनाए । उनले आफूहरुले पटक पटक विद्युत महशुस उठाउनको लागि ताकेता गरेको र वर्षौसम्म समय दिएको स्मरण गराए ।

अहिले पछिल्लो समय अन्तिमपटक तीन महिनाको समय दिएको र त्यो समयमा पनि उद्योगले विद्युत नतिरेपछि आफूहरुले बाध्य भएर लाईन काटेको उनको भनाई छ । उनले भने,‘उहाँहरुलाई किस्ताबन्दीमा पैसा तिर्न भनेका छौं । तर, अहिलेपनि उहाँहरुले पहिलो किस्ता दिनेबित्तिकै लाईन जोडिदिन्छौं । त्यो समस्या भएन । हामीले २८ किस्तामा बक्यौता तिर्न भनेका छौं । अब २८ किस्ताको एक किस्ता बुझाउनासाथ तत्काल हामी लाईन जोडिदिन्छौं । एक किस्तापनि नतिर्ने अनि अटेर गरेर बस्ने काम भयो । हिजो हामीले उहाँहरुलाई बोलाएर दिनभरि छलफलपनि गर्यौं ।’

संसद्को सार्वजनिक लेखा समितिका सदस्यहरुले पनि विद्युत बक्यौता उठाउन भनेको उनले स्मरण गराए । उनले उद्योगको बक्यौता उठाउने विषयमा धेरै पटक छलफल गरेको बताए । उनले आफूमात्रै नभएर देशले नै विद्युतको बक्यौता उठाउनुपर्छ भनेर बोलेको स्मरण गराए । सबैले रकम उठाउन भनेकोले आफू त्यस बाटोमा अघि बढेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्