Logo

सरकार सही दिशातर्फ उन्मुख छ: सञ्चारमन्त्री गुरुङ



काठमाडौँ, ९ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार गठनको सय दिनमा ७० प्रतिशत कार्य सम्पादन गर्नुले सरकार सही दिशातर्फ अघि बढेको बताएका छन् ।

सरकारको प्रवक्ता समेत रहेका मन्त्री गुरुङले आज मन्त्रालयमा यही कात्तिक ८ गते बसेको मन्त्रिपरिष्दको बैठकको निर्णय सार्वजनिक गर्दै भने, “सत्ता गठबन्धनले सय दिनमा ७० प्रतिशत कार्य सम्पादन गर्नुले ‘मर्निङ सोज द डे’भन्ने सङ्केत गर्छ ।”

पुँजीगत खर्च वृद्धि हुँदै जानु, आर्थिक विकासमा सुधार आउनु, सहकारी ठगीमाथि छानबिन गर्नु, दुग्ध किसानलाई रकम भुक्तानी गर्नु, निर्माण व्यवसायीलाई रकम भुक्तानी गर्नु, बाढीपीडितलाई पर्याप्त राहत प्रदान गर्नु लगायतका महत्वपूर्ण कार्य सरकारले समयमै सम्पन्न गरेको बताए ।

मन्त्रिपरिष्दको निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई अब हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पूर्जा र राहदानी स्टिकर छपाइ गर्न स्वीकृति दिएको बताए । यस्तै बबई सिँचाइ आयोजनाका लागि बर्दियाको गुलरिया नगरपालिकामा करिब ६५ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने, यही कात्तिक २१ गतेदेखि २७ सम्म मेक्सिकोमा दुईपक्षीय र बहुपक्षीय बैठकमा सहभागी हुन कृषि तथा पशुपन्क्षी विकासमन्त्रीलाई स्वीकृति प्रदान गर्ने मन्त्री गुरुङले बताए । 



प्रतिक्रिया दिनुहोस्