काठमाडौं, १० कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल कांग्रेस–एमालेको सहकार्य नतोडिने बताएका छन् । सरकारमा सहभागी पार्टीका सबै मन्त्रीहरुलाई हिजो बोलाएर निर्देशन दिने क्रममा आफू अहिलेको गठबन्धनकै पक्षमा भएको भन्दै सहमति पालनामा इमानदारिता देखाउनुपर्नेमा जोड दिएका हुन् ।
देउवाको निर्देशन पाएका एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई दिएको जानकारीअनुसार कांग्रेस तत्काल अहिलेको गठन्धन फेर्ने पक्षमा छैन् । देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको कुरा र निर्देशन इमानदारिताका साथ पालना गर्न ती मन्त्रीहरुलाई निर्देशन दिएका थिए ।
देउवको भनाई उद्धृत गर्दै ती मन्त्रीले भने,‘सभापतिज्यूले अहिले सरकार फेरिने, कांग्रेसले एमालेसँगको सहकार्य तोड्न लागेको छ भनेर हल्ला चलाईएको छ । यसमा कुनै सत्यता छैन् । यस्तो हल्लाको पछि लाग्दा सरकारको प्रभावकारितामा असर पर्छ । त्यही भएर ढुक्क भएर काम गर्नु, यो सरकार दायाँबायाँ हुँदैन् । मैले गठबन्धन तोड्ने सोचेकै छैन् । केपी ओलीले जे भन्छन्, त्यो खुरुखुरु मान्नु ।’
पछिल्लो समय सरकार ढल्नेबारे हल्ला चलिरहेको बेलामा सभापति देउवाले तत्काल आफूले त्यस्तो कुनै कुरा नसोचेको भन्दै दुई दलबीच भएको सहमति पालना हुने कुरा दोहोर्याएका छन् । सभापति देउवाले सरकारको एक सय दिनको काम पनि सन्तोषजनक रहेको बताएको ती मन्त्रीले जानकारी दिए ।
उनले भने,‘सभापतिज्यू, सरकारको एक सय दिनको कामलाई लिएर सन्तुष्ट हुनुहुन्छ । अझै प्रभावकारी काम गर्न भन्नुभएको छ। जनतालाई राहत दिने कुरामा सरकारले राम्रो भूमिका खेल्न भन्नुभएको छ । कांग्रेसबाट सरकारमा रहेका मन्त्रीहरुले अझै राम्रो काम गर्दा पार्टीलाई लाभ हुने कुरापनि भन्नुभएको छ । file photo