काठमाडौं, १० कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली युवा नेता रञ्जित तामाङले सरकारले आफ्नो दायित्व र कर्तव्य पूरा गर्नुपर्ने बताएका छन् । उनले अहिलेपनि देशमा भ्रष्टाचार र बेथिति व्याप्त रहेको टिप्पणी गरे ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले देशमा व्याप्त रहेका सबैखाले विकृति तथा विसंगति हटाउनको लागि आफूहरुको खबरदारीसभा फलदायी हुने दाबी गरे । उनले भने,‘देशमा सुशासनको प्रत्याभूति दिने काम राज्यको हो । जनताको आहतमा राहतको व्यवस्था गर्ने दायित्व राज्यको हो । त्यहाँपनि राज्य चुकेको छ । प्रचण्डको सरकारले सुशासनको अभियान चलायो । तर, अहिलेको सरकार त्यसमा चुकेको छ । प्रचण्डको पालामा जनतामा भरोसा पलाएको थियो । अहिले जनता निराशामा छन् ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मुद्दामा संलग्न भएको व्यापारीसँग अरबौं रुपैयाँ पर्ने जग्गा दान लिएको तर विपत्तिले आहातमा परेका जनतालाई राहत दिन उदासिन बनेको भन्दै आलोचना गरे । उनले अहिलेको सरकार गलत बाटोमा हिँडिरहेको आरोप लगाए । उनले भेन,‘राज्य मनपरी गर्न छाडा छोडिएको वस्तु होईन । हामी सरकारलाई सही बाटोमा हिँडाउन खबरदारी गरिरहेका छौं ।’
उनले सरकार गलत बाटोमा हिँडिरहेको कुरा आम जनताले पनि बुझेको बताए । उनले सरकारलाई भ्रष्टाचारविरुद्ध नारा बोकेर हिँड्ने योग्य प्रशासकलाई कारबाही गर्न तम्सिएको भन्दै नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई हटाउन खोजिए देशले नमान्ने चेतावनी दिए । उनले कुलमानलाई उज्यालो नोपलका अभियन्ताको संज्ञा दिए ।
उनले भने,‘अहिलेको सरकार कुलमानजीलाई साथमा लिएर जानुको साटो हटाउन अनेकौं तानाबुना बुनिरहेको छ । कुलमान भ्रष्टाचारको विरोधी र सुशासनको पक्षधर हो । जनताको पक्षमा भएको मान्छे हो । सरकार त दलाललाई केन्द्रमा राख्ने रहेछ । सक्षम प्रशासकलाई गलहत्याउन खोजिरहनुभएको छ, यो कुरा सिंगो देशले मान्दैन् ।’ उनले दुई तिहाईको बहुमतमा रहेको अहिलेको सरकारले मनपरी गर्न नहुने धारणा राखे ।