Logo

प्रचण्डविरुद्ध राजन भट्टराईको आक्रोश : दिनदाहाडै मान्छेलाई काटेर मारेर र बैंक लुट्नेले यस्तो कुरा गरेको सुहाउँछ ? (भिडिओसहित)



काठमाडौं, ११ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता डा. राजन भट्टराईले माओवादीले सडकबाट सरकार फेर्ने र बन्दुकबाट सत्ता कब्जा गर्ने कुरा गर्नु गलत भएको टिप्पणी गरेका छन् । उनले आफूहरुले माओवादी सुध्रिएको ठानेपनि व्यवहारमा त्यस्तो नभएको टिप्पणी गरेका छन् । आज (आइतबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो बताएका हुन् ।

उनले भने,‘सडकबाट सरकार फेर्ने र बन्दुकबाट सत्ता कब्जा गर्ने बाटोबाट उहाँहरु सुध्रिनुभयो कि भन्ने हामीलाई लागेको थियो । अब उहाँहरु फेरि फर्किएर जंगलमा जाने र सडकबाट चर्का चर्का कुरा गर्ने र बन्दुकबाट सत्ता फेर्ने युगमा नै फर्कनलाग्नुभएको हो भने हाम्रो भन्नु केही छैन् । फेरि एकचोटी मुलुक र जनताले दुःख पाउँछन् । फेरि फर्किएर आउनु त यही बाटो पर्छ । तर, अन्तिममा उहाँहरुको स्वभाव, धारणा र गतिविधि सुध्रिए होला भनेको सुध्रिएको रहेनछ ।’

उनले अहिलेको सरकारलाई सडकबाट कसैले हटाउँछु भनेपनि त्यसरी हट्ने स्थिति नरहेको स्पष्ट पारे । उनले अहिलेको व्यवस्था र संविधान आधारभूत रुपमा राम्रो रहेको दाबी गरे । उनले संविधानको कारण अप्ठ्यारो छ भन्ने अवस्था नरहेको जिकिर गरे । उनले सडकबाट व्यवस्था फेर्छु भन्नु गलत भएको टिप्पणी गरे । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो अस्तित्व रक्षाको लागि सडक संघर्षको नाममा लडाईं लडिरहेको आरोप लगाए । उनले अहिले अर्थतन्त्र चलायमान बनाउनुपर्ने बेला भएको भन्दै सरकार फेर्ने कुरा सान्दर्भिक नरहेको टिप्पणी गरे ।

प्रचण्डले त केपी ओलीको सरकार भ्रष्टाचारीहरुको संरक्षक हो यसले काम गर्न सक्दैन भन्नुभएको छ नि भनेर पत्रकार धमलाले राखेको प्रश्नमा नेता भट्टराईले कडा जवाफ दिए । उनले भने,‘म तपाईंलाई पहिलो एउटा भन्छु, दिनदाहाडै मान्छेलाई काटेर मारेर, बैंक लुटेर बनेको पार्टीले अहिले कानून र व्यवस्थाअनुसार चल्ने, संविधानअनुसार चल्ने व्यवस्थामा आएर यस्ता कुरा बोलेको पत्याउने ठाउँ छ ? ती लुटिएका मान्छेले उनको यो भाषण सुन्दा के भन्छन् होला ? लाज भन्ने हुँदैन मान्छेलाई ? आफूले फर्किएर पछाडि हेर्नु पर्दैन् ? अहिलेपनि लुटिएका मान्छे, अहिलेपनि आँगनमा मारिएका मान्छेका पीडा कुन अवस्थामा छ ? आफूले लुटाहा खालका गतिविधि गर्नको लागि मारिएका ती मान्छेहरु, ती बैंकहरु, ती व्यवसायीहरु, त्यो अवस्थाबाट आएर अहिले अरुमाथि औंला ठड्याउने ?”



प्रतिक्रिया दिनुहोस्