Logo

‘संसद् खोज पत्रकारिताको नियमित स्रोत हो’



कर्णाली, १२ कात्तिक । कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपानेले संसद् खोज पत्रकारिताको नियमित स्रोत भएको बताएकी छिन् । संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेश सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘दुई दिने क्षमता अभिवृद्धि’ तालिमको उद्घाटन गर्दै उपसभामुख न्यौपानेले संसद्मा समाचारका लागि तमाम् विषय हुने र पत्रकारले तिनको उत्खनन गर्न सक्नुपर्ने धारणा राखिन् ।

उनले भनिन्, “व्यवस्थापिका, कार्यकापालिका र न्यायपालिकामध्ये संसद् समाचारको महत्वपूर्ण क्षेत्र हो । यसमा पत्रकार तथा सञ्चारकर्मीले विवेकपूर्ण तवरले समाचार सङ्कलन, सम्पादन तथा सम्प्रेषण गर्नुपर्दछ ।”

कर्णाली प्रदेशसभाले खुला संसद्को अभ्यासलाई निरन्तरता दिएको बताउँदै उपसभामुख न्यौपानेले क्षमता अभिवृद्धि तालिमले पत्रकारको ज्ञान, सीप र लेखन कला अभिवृद्धिमा सहयोग र त्यसले संसदीय समाचारका विषय प्रकाशमा आउन टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) संसद् सहयोग परियोजनाको सहयोगमा सञ्चालित तालिममा प्रशिक्षक नारायण काफ्ले, शिव गाउँले, बिनु सुवेदी र कर्णाली प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले संसद्, संसदीय अभ्यास, कानुन निर्माण र यसका गतिविधिका विषयमा प्रशिक्षण दिने संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेश सुर्खेतका अध्यक्ष देव रानाले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्