काठमाडौं, कार्तिक १३ । हाल देशभर पश्चिमी वायुको साथै पहाडी भू-भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । उक्त प्रभावका कारण देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, आज राती कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।